‘फास्ट ट्रयाक’को बीमा हात पार्न कम्पनीहरुको दौडादौड, हात परे अर्बौंको व्यवसाय आउने

Advertisement

काठमाडौ । खर्बौं लगानी रहेको द्रुतमार्ग  ‘फास्ट ट्रयाक’को बीमा हात पान निर्जीवन बीमा कम्पनीहरुबीच होड चलेको छ । नेपालका बीमा कम्पनीले गर्ने वार्षिक व्यवसायभन्दा पनि ठूलो बीमा हुने यस आयोजनाको व्यवसाय हात पार्न कम्पनीहरुले हानथाप गरेका हुन् ।  

‘फास्ट ट्रयाक’को बीमा हुँदा यो नेपालको अहिलेसम्मकै ठूलो बीमा हुनेछ । यो व्यवसाय पाउने कम्पनीको नाफासँगै पुँजीगत लाभमा समेत ठूलो परिवर्तन आउने र कम्पनी व्यवस्थापनको ठूलो प्रगतिको रुपमा पनि देखिने भएकाले पनि यस्तो होड चलेको हो । 

Advertisement

बीमा क्षेत्रका एक जानकारले भने, ‘‘फास्ट ट्रयाक’को बीमामा निकै आकर्षण देखिएको छ । यो नेपालमा बीमा कम्पनीले गर्ने वार्षिक व्यवसायभन्दा पनि ठूलो बीमा भएकाले यसमा आकर्षण देखिएको हो ।’ 

विगतमा सरकारी परियोजनाको बीमा राष्ट्रिय बीमा कम्पनीमार्फत नै हुने गर्थ्र्यो । तर, पछिल्लो समय सरकारी स्वामित्वमा रहेको उक्त कम्पनीले धमाधम आफ्नो व्यवसाय गुमाई रहेको अवस्था छ । ‘फास्ट ट्रयाक’को बीमा ठूलो रकमको हुने भएको र सार्वजनिक खरीद कानुनअनुसार प्रतिस्पर्धाका आधारमा दिनुपर्ने भएकाले पनि निजी बीमा कम्पनीहरुले व्यवसाय पाउने अवस्था रहेको छ । तीब्र प्रतिस्पर्धाका कारण पनि फास्ट ट्रयाकको बीमाका लागि अहिले कम्पनीहरुबीच हानाथाप भइरहेको छ । 

राष्ट्रिय बीमा कम्पनीसहित केही बीमा कम्पनीहरु ‘फास्ट ट्रयाक’को बीमा पाउनमा जुटेका छन् । उक्त बीमाका लागि सानिमा जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रुडेन्सियल र राष्ट्रिय बीमा कम्पनी मुख्यरुपमा दौडमा छन् । 

यी कम्पनीका सीईओलगायतका व्यक्तिहरु उक्त व्यवसाय हात पार्न दैनिकरुपमा विभिन्न ठाउँमा धाइरहेका छन् । बुधबार उक्त विषयमा छलफल गर्न राष्ट्रिय बीमा कम्पनीले बीमा समितिलाई भेट्ने समय समेत तय गरेको छ । निजी क्षेत्रका कम्पनीहरु पनि कुनै पनि हालतमा उक्त व्यवसाय हात पार्ने योजनामा देखिन्छन् । 

राष्ट्रिय गौरवको यो आयोजना काठमाडौं र तराईलाई जोड्ने महत्वपूर्ण आयोजना हो । यो सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । 

Advertisement

Advertisement