एउटै बीमा राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ इन्स्योरेन्समा गरेर दोहोरो सुविधा लिने प्रयास विफल

Advertisement

काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले दावी भुक्तानी गर्नुपर्ने बीमा जुधेको छ । बीमा दाबी जुध्दा दुवै कम्पनी समस्यामा परेका छन् । दावी जुधेकाले भुक्तानी गर्न ढिलाई भएको सिद्धार्थ र राष्ट्रिय बीमा कम्पनीको भनाई छ । 

एक सहकारीमा भएको आगलागीसम्बन्धी बीमालाई लिएर  उत्पन्न यो समस्या बाहिर सार्वजनिक भएको छ । एउटै बीमा दुई वटा कम्पनीमा गर्नु गैरकानुनी मानिन्छ । बीमितले बीमाको दावी भुक्तानी नपाउँदा बीमा समितिमा जाने उपाय भए पनि कसैले बदनियतपूर्ण तरिकाले वा थाहा नपाएर दोहोरो बीमा गरे त्यसको दावी भुक्तानी समिति रोक्ने कम्पनीहरुको भनाई छ । 

Advertisement

सबैभन्दा पहिले बीमितले उक्त बीमा राष्ट्रिय बीमा कम्पनीमा गरेको थियो । पछि सोही बीमा सिद्धार्थ इन्स्योरेन्समा गरेको देखिन्छ । सहकारीमार्फत लघु उद्योग चलाएको भन्दै दोहोरो बीमा गरिएको बीमा कम्पनीले जानकारी दिएको  छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले एउटै बीमा दुई ठाउँमा गरेको पाइए  त्यस्तो बीमाको भुक्तानी दिन कम्पनीहरुलाई कुनै बाध्यकारी नहुने बताए । उनले निर्जीवन बीमाको हकमा यस्ता समस्या देखिने गरेको पनि स्वीकार गरे  ।  

पौडेलले भने, ‘पहिलो कुरा बीमा गरेर अनावश्यक नाफा कमाउने उद्देश्य बीमितले पनि राख्नु हुँदैन । त्यसमाथि पनि दुई वटा कम्पनीमा बीमा गरेर दुवै कम्पनीबाट पैसा पाइने व्यवस्था छैन् । त्यस्तो अवस्थामा बीमितले पाउने दाबी जति छ, त्यति मात्रै बीमा कम्पनीहरुले  व्यर्होछन् ।’

उनले दोहोरो बीमा हुँदा सबैभन्दा पहिला जुन बीमा कम्पनीमा बीमा गरेको हो, सोही कम्पनीबाट दावी भुक्तानी लिनुपर्ने बताए । बीमा समितिले त्यस्तो अवस्थालाई सर्वगेसन भन्ने गरेको पौडेलले बताए । सोही सर्वगेसनमार्फत नै बीमितले कति पाउने हो ? त्यो निर्धारण हुने र सोही अनुसार पैसा भुक्तानी हुने उनले बताए । 

यस विवादमा बीमितले १८ लाख रुपियाँ बराबर बीमांक माग गरेको छ । उक्त रकम र त्यसमा बीमितले पाउनुपर्ने केही हिस्सा अब बीमा कम्पनीले व्यहोर्नुपर्ने देखिएको छ ।

यता, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाले सो बीमाको लागि सिद्धार्थ इन्स्योरेन्ससँग पनि छलफल गर्ने बताए । त्यस्तै, लामो समयदेखि मिडियामा आउन रुची नदेखाएका सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीईओ विरेन्द्र वैद्यवार क्षेत्रीले यस घटनाको विषयमा पनि केही प्रतिक्रिया दिएनन् ।  

Advertisement

Advertisement