एसएसपीको नेतृत्वमा सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको छानविन हुने

Advertisement

काठमाडौं । नेपाल प्रहरीले सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन गरेको छ । गृह मन्त्रालयले निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति बनाएको हो ।

समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य छन् । बुधबार एक युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै १६ वर्षको हुँदा आफूमाथि एक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने कम्पनीका सञ्चालकले बलात्कार गरेको बताएकी थिइन् । 

Advertisement

ती व्यक्तिले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको भन्दै पीडितले यस विषयमा पूर्वमिस नेपाल माल्भिका सुब्बालाई पनि बताएको र तर सुब्बाले बेवास्ता गरेको बताएकी थिइन् । सुब्बाले त्यसबेला यस कुरालाई सामान्यरुपमा लिएकोमा माफी मागेकी छन् ।

घटना सार्वजनिक भएसँगै घटनाको छानविन र दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन पनि भइरहेको छ । तर बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानूनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । यद्यपि अन्य विभिन्न ऐनमा टेकेर पनि मुद्दा चलाउन सक्ने अवस्था रहेको  भन्दै प्रहरीले छानविन अघि बढाएको छ । प्रहरीले शुक्रबार पीडितलाई भेटेर कुराकानी पनि गरेको थियो । 

Advertisement

Advertisement