मर्जरमा जाने बीमा कम्पनीहरुको बोनस घट्ने सम्भावना, समिति भन्छ– एक्चुरीकै हातमा छ

Advertisement

काठमाडौ । पुँजी वृद्धि गर्नुपर्ने बीमा समितिको निर्णयसँगै बीमा कम्पनीहरु मर्जरमा जाने क्रम सुरु भएको छ । मर्जरको तयारी गरिरहेका कम्पनीहरु बोनस दर घट्ने हो कि ? भन्ने कुराले चिन्तित देखिएका छन् ।

यता बीमा समितिले मर्जरमा सघाउने र आउने समस्याहरु समाधान  गर्न सघाउने बताउँदै आएको छ । तर बीमा कम्पनीहरुको व्यवसायमा ठूलो अर्थ राख्ने बोनस दर, कम्पनीको शेयर मूल्यका बारेमा भने समिति उदासिन देखिएको छ । 

Advertisement

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बोनस दरको कुरा एक्चुरीले जे निर्धारण गर्छ, त्यही हुने बताए । उनले भने, ‘अब त्यो बोनस दरको कुरा त हामीलाई भन्दा पनि एक्चुरीलाई सोध्ने कुरा हो । एक्चुरीले जे निर्धारण गर्छन् त्यही बोनस दर त कायम हुन्छ नि ।’ अहिलेको बोनस दर राख्न नमिल्ने भएकाले थोरै बोनस भएका कम्पनीको बोनस बढ्न सक्ने र धेरै बोनस दर भएका कम्पनीहरुको बोनस दर घट्नसक्ने पौडेलको भनाई छ । 

उनले यतिबेला सबै कम्पनीलाई मर्जरमा गएर आफूलाई बलियो बनाउनेतिर ध्यान दिनुपर्ने बताए । पौडेलले थपे, ‘हामीले मर्जरमा जान बीमा कम्पनीहरुलाई बाटो खोल्देका छौं । बाटो खोलेको पनि धेरै समय भइसक्या छ । पछिल्लो समय जीवन र निर्जीवन दुवै कम्पनीहरु मर्जरमा जान इच्छुक पनि देखिएका छन् । पहिले नै हामीले एक चरण छलफल गरेर मर्जर निर्देशिका पनि ल्याएका थियौं । त्यसले सबैकुरा त नसमेटला । जहाँ जहाँ अप्ठ्यारो पर्छ, त्यस्तो बेलामा समाधानका लागि हामीले सघाउँछौं ।’

उनले मर्जरमा जान बीमा कम्पनीहरु तयार भइसकेको बताए । उनले अब बाँकी कम्पनीहरुलाई पनि आफूहरुले मर्जरमा लैजाने बताए । 

हेरफेर हुन्छ बोनस दर
जीवन बीमातर्फ प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया सुरु गरेका छन् भने निर्जीवनतर्फी एभरेष्ट र हिमालन जनरल इन्स्योरेन्सले सुरु गरेका छन् । मर्जरमा जाँदा कम्पनीहरुको व्यवस्थान संरचनादेखि, भौतिक संरचना, कर्मचारी व्यवस्थापन, नाम, लोगो, छाप, पुँजी संरचना परिवर्तन हुन्छन् । जीवन बीमामा बोनस दरले ठूलो भूमिका खेल्ने भएकाले कम्पनीहरु मर्जरमा गएपछि बोनस दर घट्ने हो कि ? भन्ने ठूलो चिन्ता बीमितदेखि अभिकर्ताहरुसम्ममा देखिएको छ ।

पुँजी योजना कार्यान्वयन गर्न मर्जर बाध्यता  भए पनि बोनस दर बढ्ने संभावना न्यून देखिन्छ । मर्जरमा जाने कम्पनीहरुको बोनस दर निर्धारण गर्न सबैभन्दा पहिला सबै प्रक्रिया पूरा भएर कम्पनीको संरचनागत र व्यवस्थापकीय परिवर्तनपछि व्यवसाय गर्न सबल अवस्थामा पुगेको हुनुपर्छ । 

यसको मतलब मर्जरपछि नयाँ कम्पनीको रुपमा स्थापना भएर नयाँ व्यवसाय लिन बीमा कम्पनीहरु तयार छन् भने अवस्थामा मात्रै एक्चुरीले बोनस दर निर्धारण गर्ने गर्छन् । बोनस दर आर्फैमा हिसाब किताबसँग सम्बन्धित हुने भएकाले पनि अन्य प्रक्रिया पूरा भएपछि मात्रै बोनसको पालो आउने जानकारहरु बताउँछन् । 

विगत केही महिनाअघि बोनस दर थोरै घट्यो भने हामी आगो बाल्छौं भन्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरु बीमा समिति घेर्न पुगेका थिए । त्यस्तै, बीमा बचत र नाफा दुवै भएकाले बोनसका लागि बीमा गर्ने बीमितहरुलाई मर्जरले घाटा पुर्याउने सम्भावना पनि बढेको अवस्था छ । 

Advertisement

Advertisement