वीरगञ्जको मेयरमा राजेशमान सिंह भारी मतान्तरले विजयी

Advertisement

वीरगञ्ज । भारतसँगको मुख्य व्यापारिक नाका रहेको पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा  २२ हजार ५५५ मतान्तरले हराउँदै राजेशमान सिंह मेयर निर्वाचित भएका हुन् । 

Advertisement


राजेशमानले  ४६ हजार २१५  मत पाउँदा विजयले २३ हजार ६७१ मत मात्रै पाएका छन् । वीरगञ्जका एक लाख २४ हजार ६४७ मतदातामध्ये ९३ हजार ७८२ ले मतदान गरेका थिए । यसअघि उनी सरावगीसँग पराजित भएकोमा अहिले भारी मतान्तरले हराउन सफल भएका हुन् । 

त्यो बेलामा संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९ हजार ३९३ मत ल्याउँदा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट उठेका राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए । तर अहिले भने दुवैले दल बदलेर चुनाव लडेका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा आएका थिए भने विजय सरावगी जसपा त्यागेर एमाले बनेका थिए । 

राजेशमान एमालेमा जाने लगभग निश्चित भइसकेको थियो तर एमालले विजयलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा गए । एमालेले राजेशमानलाई उपेक्षा गरेर विजयलाई पार्टी प्रवेश गराएको थियो । 

यस्तै उपमेयरमा विजयी भएका इम्तियाजले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले नौ हजार ५६८ मतमात्रै पाएका छन् । राप्रपाकी चिना जैसवालले पाँच हजार ९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले तीन हजार ९०९ मत ल्याएका छन् ।

वीरगञ्जमा ३२ वटामध्ये १३ वडामा जसपा, नौ वटामा कांग्रेस, आठमा एमाले र दुईमा लोसपाले जितेको छ ।

Advertisement

Advertisement