आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सक्ने अवस्था छैनः मन्त्री झाँक्री

Advertisement

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएकी छिन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिइन् । 

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिइन् । बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भनिन्, ‘हामीले बारम्बार छलफल सल्लाह गर्छौँ तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ,  देखिने गरी काम गरौँ ।’ 

Advertisement

काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ रहेको उनको सचिवालयले जनाएको छ । मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाहरूको पूँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिइन् । 

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चालुतर्फ ५३.३९ प्रतिशत र पूँजीगततर्फ ३५.३९ प्रतिशत गरी कूल ३६.७३ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । उहाँले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको जनाउँदै यसवर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताइन् । 

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण पेश गरिन् । उनले आगामी असार १५ गतेसम्म विभागले झण्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि दाबी गर्नुभयो । सघन शहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत  रहेको उनले बताइन् । 

मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सङ्घीय संसद् सचिवालयलगायत विभाग र निकायले काम गरिरहेका छन् ।

Advertisement

Advertisement