दुई बर्ष ढिलो भइसकेको राष्ट्रिय खेलकुदको मिति फेरि पर धकेलियो

Advertisement

काठमाडौं । यही महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साताका लागि सारिएको छ । मंगलवार युवा तथा खेलकुद मन्त्रायलयले पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । 

यसअघि जेठको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय प्रतियोगिताको मिति धकेल्ने काम भएको हो । राष्ट्रिय खेलकुद परिषदको प्रस्तावमा मंगलवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए । 

Advertisement

उनले फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको बताए । गहतराजले भने, ‘फस्ट ट्रयाक, साफ गेमको मोडलबाट नवौं तयारी गरिएको भएपनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भयो । यस्तै यो बीचमा खेलाडी छनोटका प्रक्रिया पूरा गर्न नसकेको र आयोजक गण्डकी प्रदेशले दबाव भएको र गण्डकी प्रदेशको अनुरोधमा समय केही पछि धकेल्नु परेको हो ।’

नवौं राष्ट्रिय खेलकुदमा ६० करोडभन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भइसकेको थियो । 

तर, प्रतियोगिता शुरु हुन केही दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने करिव निश्चित थियो । यस्तै नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् भने ३८ खेलमा प्रतिष्पर्धा गराउनेसमेत निर्णय यसअघि भइसकेको थियो ।

Advertisement

Advertisement