नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र सकारात्मक, तर कार्यान्वयनमा आशंका

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि मंगलबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै निजी क्षेत्रको माग सम्बोधन गर्ने गरी आएको बताएका छन् । 

Advertisement

सार्वजनिकरुपमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘समग्रमा नीति तथा कार्यक्रम सकारात्मक छ । निजी क्षेत्रले उठाएका माग धेरै हदसम्म पूरा भएको छ ।’ साना तथा मझौला उद्योगलाई सहुलियत कर्जा, रेमिट्यान्स बढाउन प्रोत्साहन दिने जस्ता कुरा राम्रो हो भन्दै गोल्छाले मुख्य कुरा कार्यान्वयन राम्रो हुनुपर्ने बताएका छन् । 

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको भन्दै औद्योगिकरणका लागि यसले सहयोग पुग्ने बताएका छन् । 

स्वदेशी उत्पादन र उपभोग दशक कार्यक्रम परिसंघको माग अनुसार आएको भन्दै उनले उद्योगमा जग्गाको हदबन्दी जस्ता कार्यक्रम पनि आफूहरुले उठाउँदै आएको मुद्दा भएको बताए । अग्रवालले उद्योगलाई संरक्षण गर्ने नीतिलाई अब बजेटमार्फत सम्बोधन गरिनुपर्ने पनि बताए । 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

उनले नीति तथा कार्यक्रले उत्पादनमूलक क्षेत्र र कृषि उत्पादनलाई प्रोत्साहन गरेको र उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, व्यापार सहजीकरण, घरजग्गा कारोबार व्यवस्थापन जस्ता विषय सकारात्मक देखिए पनि कार्यान्वयनमा आशंका व्यक्त गरे । 

बजेट कसरी आउँछ र त्यसको कार्यान्वयन कसरी हुन्छ ? भन्ने कुराले सबै कुरा निर्धारण हुने मल्लको भनाई छ ।

Advertisement

Advertisement