पोखरामा एमालेलाई हराएर नेकपा एसका धनराज विजयी, ललितपुरमा फेरि चिरिबाबु

Advertisement

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । नेकपा एमालेबाट टुक्रिएर बनेको दल अहिले सत्तामा छ । 

एमालेका कृष्ण थापालाई छ हजार ४५ मतान्तरले हराउँदै नेकपा एसका आचार्यले ५८ हजार ८९३ मतले जितेका हुन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई हराएकी छन् । गुरुङले ६० हजार ५४६ मत र रानाभाटले ५६ हजार ६६३ मत पाएका छन् । 

Advertisement

पोखराको निर्वाचनको नजिता राती सार्वजनिक भएको हो । विगत २५ वर्षदेखिको एमालेको बिरासतलाई सत्ता गठवन्धनले भत्काएको हो । यसअघिको निर्वाचनमा जितेका वडासमेत यसपल्ट एमालेले गुमाएको छ ।

यता, ललितपुर महानगरपालिका नेपाली कांग्रेसका चिरिबाबु महर्जनले पुनः जित हासिल गरेका छन् । उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले हराउन सफल भएका हुन् । ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत ल्याएका छन् भने व्यञ्जनकारले २४ हजार ५६० मात्र मत ल्याएका छन् । 

यसअघिको स्थानीय निर्वाचनमा पनि व्यञ्जनकार महर्जनसँग पराजित भएका थिए । त्यो बेलामा महर्जनले ३२६ मात्र मत अन्तरले हराएका थिए । 

उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएकी छन् । उनले सत्ता गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई छ हजार ३३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गर्दा बज्राचार्यले १८ हजार ७५२ मात्र मत प्राप्त गरिन । 

Advertisement

Advertisement