नेपालमा खेलेर पैसा कमाई हुने खेल भनेको फुटबल मात्रै होः एन्फा अध्यक्ष शेर्पा

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयनको लागि आगामी असार पहिलो साता निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेससँग निकट उनले ‘नेपाली फुटबलको संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यवसायिकता हाम्रो अभियान’ भन्ने नारासहित प्यानसहित उम्मेदवारी घोषणा गरेका हुन् । नजिकिँदो चुनाव र नेपालको फुटबल गतिविधिलाई लिएर शेर्पासँग कर्पोरेट नेपालकी रिता बस्नेतले गरेको कुराकानीः 

नेपालमा अहिले फुटबलको गतिविधि कस्तो छ, के के कामहरु भइराखेको छ ?
म एन्फामा रहँदा कोरोनाका कारण फुटबलका सबै गतिविधिहरु ठप्प भयो । त्यसले गर्दा फुटबलका गतिविधिलाई निरन्तरता दिन गाह्रो भयो । विशेष गरी नेपालमा स्तरिय फुटबल ग्राउण्ड अथवा रंगशालाहरु पनि छैन । त्यो भएर लिग गर्न गाह्रो भइराखेको अवस्था छ । वर्षेनी लिग गर्नुपर्नेमा कोरोनाले एक वर्ष गर्न सकेनौं । तर, पछिल्लो समय फुटबल गतिविधिलाई चलायमान बनाएका छौं । अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि गरिराखेका छौं । महिला फुटबलमा अन्तर्राष्ट्रियस्तरको तीन वटा उपाधि रनरअफ हुन सफल भएका छौं । त्यसले गर्दा हामीले फुटबललाई गतिशिल बनाउने काम गरेका छौं । महिलाको नयाँ लिग सुरु गरेका छौं । फुटसलमा लिग सुरु भएको छ । खेलाडीहरुको क्षमता वृद्धिको लागि कोचिङ कोर्षहरु नेपालमै हुने व्यवस्था अहिले भएको छ । त्यसले गर्दा फुटबलको पाठ्यक्रम बनाउनुको साथै शिक्षाको क्षेत्रमा धेरै ध्यान दिएका छौं । ६ देखि १२ वर्ष उमेर समुहका बच्चाहरुलाई फुटबलमा संलग्न गराएका छौं । प्रत्येक वर्ष ७० हजार पाँच सय बच्चाहरुलाई फुटबल गतिविधिमा संलग्न गराएका छौं, अझ यसलाई वृद्धि गर्ने सोचमा छौं । जसनुसार विभिन्न कार्यक्रम पनि गर्दैछौं । युथ प्रोग्राम, युथ एकेडेमीहरु सुरु भइसकेको छ । १२ वटा एकेडेमी सुरु भइसकेको छ । महिला एकेडेमी पनि सुरु गरेका छौं । पोखरामा मल्टी प्रपोज ट्रेनिङ सेन्टर(कोचेजहरुको ट्रेनिङ, रेफ्रि ट्रेनिङ, प्राविधिक जनशक्तिहरुको ट्रेनिङ, विभिन्न एजग्रुप फुटबलको ट्रेनिङ गर्न मिल्ने ठूलो कम्प्लेक्स) बनाउदैछौं । 

Advertisement

हाल फुटबलमा महिलाको सहभागिता कत्तिको छ ?
फुटबलमा महिलाको सहभागिता धेरै छ । अहिले महिला फुटबल नै आठवटा ‘ए डिभिजन क्लब’ भइसक्यो, जुन हिजोका दिनमा थिएन । महिलाहरुको नगर प्रतियोगिता सुरु भइसकेको छ । हिजोको दिनमा फुटबलमा महिलाको न्यून सहभागिता मात्रै हुन्थ्यो अहिले भने उपमेयर राष्ट्रिय प्रतियोगितामा ३१ वटा महिला टिम छन् । विभिन्न प्रतियोगितामा टिमहरु बनेको छ र अझै बढ्दैछ । यसरी फुटबलमा महिला खेलाडीको संख्यामा वृद्धि भइराखेको छ । 

अहिले नेपालमा खेलाडीले फुटबल खेलेर मात्रै जिविकोपार्जन गर्न सक्ने अवस्था छ ?
ए डिभिजन खेल्ने खेलाडीहरुलाई, यसैबाट आफ्नो जिविका चलाउन सक्ने अवस्था भएको छ । बि डिभिजनको खेलहरुबाट पनि राम्रो कमाई भइराखेको छ । नेपालमा एउटै मात्रै खेल जुन खेलेरै पैसा आउने भनेको फुटबल मात्रै हो । त्यसले गर्दा नेपालमा फुटबल खेल राम्रो हुँदै गएको छ । तरपनि अलि फुलफिल भने भइसकेको छैन । लिग भयो भने एउटा खेलाडीको आम्दानी महिनाको डेढ÷दुई लाखसम्म हुन्छ । यसरी लिगहरु भइराख्यो भने खेलाडीहरुको आम्दानीमा वृद्धि हुने हो । त्यसैले आम्दानी बढ्दै जानको लागि लिग भइराख्नु पर्छ । 

फुटबललाई स्पोन्सर गर्ने नेपाली व्यवसायीहरुको संख्या कत्तिको छ ?
केही व्यवसायीहरुले गरिराखेका छन् । तर, सरकारको खेलप्रतिको नीति अझै राम्रो बनाउनु पर्छ । खेलकुदमा लगाइने कर छुट, सीएसआर आदिमा सरकारले ओपन पोलिसी बनाइदिनु पर्छ । बरु सूर्तीजन्य, मदिराजन्य वस्तुमा बढी कर लगाएर त्यसबाट खेलकुद क्षेत्रलाई सहयोग गर्न सकियो भने खेलकुदको गतिविधिहरुबाट स्वस्थ नागरिकहरु वृद्धि हुँदै जाने थियो । त्यसले गर्दा खेलकुद गतिविधि बढाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्छ र हामी सबै यसमा लाग्नुपर्छ । र, भोलिका दिनमा खेल क्षेत्रको लागि खेलकुद मन्त्रालयले बजेट विनियोजन गर्यो भने प्रतियोगिता गर्न सजिलो हुन्थ्यो र सरकारसँग जहिले पनि बजेट मागिराख्नु पर्ने अवस्था आउदैन थियो । 

तपाईंले आफ्नो कार्यकालमा गरेका कामहरु मध्ये प्रमुख उपलब्धि के के छन् ?
साग गेममा नेपाल दोस्रो भएको छ, यो अहिलेसम्म नभएको उपलब्धि भएको हो । साउथ एसियन गेममा नेपालले ३५ वर्षपछि गोल्ड मेडल जितेको छ । महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला तीन वटा खेलमा उपविजेता बनेको छ । ओलम्पिक क्वालिफाईमा महिला सेकेण्ड राउण्डमा प्रवेश गरेको छ । एएफसी युथमा नेपाल सेकेण्ड राउण्डमा प्रवेश गरेको छ । यसरी फुटबलमा क्षमता वृद्धि भएको छ । कोचिङ कोर्सहरु, रेफ्रि कोर्सहरु नेपालमै गर्न सकिने व्यवस्था भएको छ । यसरी मेरो कार्यकालमा धेरै कामहरु भएका छन् र अझ खेल र खेलाडीको पक्षमा धेरै गर्न बाँकी छ । 

फेरि एन्फाको अध्यक्ष लड्दै हुनुहुन्छ, प्रमुख योजना के छ ?
फुटबललाई आर्थिक रुपमा सबलीकरण र व्यवसायीकरण गर्ने मेरो मुख्य उद्देश्य हो । यसको लागि प्रशासन तथा शासकलाई चुस्त र दुरुस्त बनाउनुको साथै खेल र खेलाडीहरुको लागि आर्थिक पारदर्शिता लागू गर्ने रहेको छ । क्लबहरुलाई कम खर्चमा ट्रेनिङहरु दिलाउन योग्य बनाउने र क्लबलाई आर्थिक रुपमा सबल बनाउने मेरो प्राथमिकतामा रहेको छ । देशमा भएका क्लब सफल भएपछि मात्रै खेलाडीहरुले राम्रो तलब पाउने हो । त्यसैले खेलाडीलाई तलब खुवाउने क्लबलाई आर्थिक रुपमा दिगो बनाउने काम सुरुको फेजमा गर्नुपर्ने छ । क्लबहरुलाई व्यवसायीकरण बनाउनुको साथै अब क्लबलाई चन्दा दिने अवस्थाबाट माथि उठाएर सेयर बाडफाड गर्ने संस्कृतिको विकास गराउने अवस्थामा पुर्याउछु । 

Advertisement

Advertisement