चेम्बर एक्स्पो असार पहिलो सातादेखि, भारत, पाकिस्तान, बंगलादेशका उत्पादन पनि रहने

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा असार २ गतेदेखि ‘नेपाल चेम्बर एक्स्पो २०२२’ राजधानीको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान गर्ने उद्देश्यले पाँचौं संस्करणको एक्स्पो गर्न लागिएको नेपाल चेम्बरले बताएको छ । एक्स्पो असार ६ सम्म चल्नेछ । 

Advertisement

यसअघिका चार एक्स्पो सफल भएको भन्दै नेपाल चेम्बरले तापूर्वक आयोजना गरिसकेको चेम्बरले यो पाँचौ संस्करणको मेला आयोजना गर्न लागेको हो । एक्सपोमा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ । सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको भनाई छ । 

बंगलादेश पार्टनर कन्ट्री रहेको यसको एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनी हुनेछ । 

चेम्बरका अनुसार गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी समेत गर्ने उद्देश्य राखेको जनाएको छ ।

एक्स्पोमा १५० वटा स्टल रहने छन् । एक्स्पो नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने आयोजक पक्षले जनाएको छ ।
 

Advertisement

Advertisement