इन्भेष्टमेन्ट र मेगाबीच मर्जर सम्झौता, नविल, ग्लोबल आईएमई र एनआईसी एशियालाई टक्कर

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच शुक्रबार मर्जरका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र मेगा बैंकका अध्यक्ष भाजबहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

आज लामो समयको छलफलपछि बेलुकी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार नयाँ बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ । उक्त बैंकको अध्यक्ष पाण्डे नै रहने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्भेष्टमेन्टका हालका सीईओ ज्योति पाण्डे रहने छन् । 
 
दुवै पक्षले यसअघि नै मेगाको सय बराबर इन्भेष्टमेन्टको ९० कित्ता शेयर अनुपातमा मर्जरमा जाने प्रारम्भिकरुपमा भद्र सहमति गरिसकेका थिए । उनीहरुले छ महिनाभित्र एकीकृत कारोबार गरिसक्ने लक्ष्य लिएका छन् । 

Advertisement

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । जसअनुसार नयाँ बन्ने बैंकको पुँजी स्वाप रेसियोपछि पनि ३२ अर्बभन्दा बढी हुनेछ । 

यस मर्जर सम्झौतासँगै ठूला बैंकको रुपमा रहेका र रहने तयारीमा रहेका नविल बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकलाई टक्कर दिने अर्को बैंक थपिएको छ । 

इन्भेष्टमेन्टले हिमालयन बैंकसँग मर्जरको प्रयास गरे पनि सफल नभएपछि मेगालाई विश्वासमा लिन सफल भएको हो । बढ्दो प्रतिस्पर्धासँगै व्यवसाय बढाउनुपर्ने परिस्थितिका कारण बैंकहरुलाई मर्जर बाध्यता बन्दै गएको छ । 

Advertisement

Advertisement