स्वास्थ्य र शिक्षामा व्यापार गर्न मिल्दैन्: बालेन शाह

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा राखेका छन् । 

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले शिक्षा र स्वास्थ्यमा व्यापार गर्न नमिल्ने बताएका हुन् । नौ बर्षअघि स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवाको उनले अवलोकन गरेका थिए । 

Advertisement

नगरवासीको सुविधाका लागि हरेक वडामा क्लिनिक स्थापना गरी निःशुल्क उपचार दिने घोषणा गरेका शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया पनि गरे । अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रिया पश्चात उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेको बताए । 

शाहले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न सुझाव दिए । 

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन् ।’

मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ ? बार्षिक रुपमा सहयोग गर्ने वा के गर्ने ? भन्ने विषयमा छलफल भइरहेको बताए । उनले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाए । 

स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ नयाँ योजना तथा सल्लाह सुझावहरु लिएर आउनेसँग सहकार्य गरिने बताए । सो क्रममा कामपा १७ नं वडाका अध्यक्ष नविन मानन्धर समेत सहभागी थिए ।  

Advertisement

Advertisement