वाईफाई-नेपालले सेवा शुरु गर्यो, ३३३ रुपियाँमै इन्टरनेट !

Advertisement

काठमाडौं । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित आजदेखि सेवा सञ्चालनमा ल्याएको हो । 

सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाईफाई-नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ । 

Advertisement

हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ । 

वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपियाँँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपियाँ र ५० एमबीपीएसको ४१७ रुपियाँ हुन आउँछ । 

त्यस्तै ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपियाँमा र छ महिने प्याकेज २१०० रुपिायाँमै पाउन सकिनेछ । त्यस्तै ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५०० रुपियाँँ र छ महिने प्याकेजका लागि तीन हजार रुपियाँ मात्र पर्नेछ ।  

३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याट बाहेक ४०० रुपियाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याट बाहेक मासिक ५५० रुपियाँमा उपलब्ध हुनेछ । 

यी दुवै प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । ‘इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सीईओ रितेशराज सिंहले भने, ‘यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।’ तर आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पु¥याउन सहयोग पुग्ने सिंहको भनाई छ ।     

कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ । ग्राहकले वाईफाईनेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन् । 

कम्पनीका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, छ महिना वा एक वर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि १५०० रुपियाँ मात्र तिर्नुपर्ने छ । जडान तथा इन्स्टलेसनका लागि थप शुल्क लाग्ने छैन ।

हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । ‘मूल्यसँगै गुणस्तरमा पनि स्तरीय बन्नका लागि हामीले पछिल्लो एक वर्षदेखि गृहकार्य गरेका छौं,’ सिंहले भने, ‘पूर्ण तयारीका साथ सेवा सुरु गर्न लागेकाले बिक्री पछिको सेवामा पनि उपभोक्ताले कमी महसुस गर्नुपर्ने छैन ।’

‘हाम्रो पहिचान भनेकै यसको मूल्य हो, मूल्यसँगै गुणस्तरलाई पनि उत्तिकै ध्यान दिएका छौँ,’ सिंहले भने ।

कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यी प्याकेज उत्तिकै उपयोगी हुने र सबैको पहुँचमा इन्टरनेट पुर्याउनको लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरु घोषणा गर्ने तयारी गरेको कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 
 

Advertisement

Advertisement