इण्डोनेसियासँग नेपालको ७–० को लज्जास्पद हार

Advertisement

काठमाडौं । ३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको नेपाली फुटबल टोली बुधवार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ । 

कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलमा नेपाल इण्डोनेसियाँसग ७–० को फराकिलो अन्तरले पराजित भएको हो । जाबिर अल अहमद स्टेडियममा इण्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल खान पुगेको थियो ।

Advertisement

बलियो इण्डोनेसियाले नेपालबिरुद्ध निकै हाबी हुँदै खेल देखाएको थियो । सोही क्रममा खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इण्डोनेसियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो । खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इण्डोनेसियालाई २–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इण्डोनेसियालाई ३–० को अग्रता दिलाए । लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४–० को बनाउँदा  ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इण्डोनेसियाको अग्रता ५–० को बनाए । खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल तथा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इण्डोनेसियालाई ७–० को जित निश्चित गरे ।

यस हारसँगै समूह ए मा रहेको नेपालले अंक बिहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल समूहको पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । नेपाबिरुद्धको फराकिलो जितसँगै इण्डोनेसियाले ३ खेलमा ६ अंक जोड्यो । इण्डोनेसिया दोस्रो स्थानमा रह्यो ।

Advertisement

Advertisement