भोलिदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो, थुप्रै स्वदेशी विदेशी सामानहरु खरीद गर्न सकिने

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा भोलि असार २ गतेबाट चेम्बर एक्स्पो आयोजना हुँदैछ । नेपाल चेम्बर अफ कमर्शले हरेक बर्ष जस्तै यस बर्ष पनि एक्स्पो गर्न लागेको हो । 

नेपाल चेम्बरले बुधबार पत्रकार सम्मेलनमार्फत खस्केको अर्थतन्त्रलाई चलायमान गर्ने उद्देश्यका साथ नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीकरण, आयात–निर्यातको सूचना आदान–प्रदान हुने गरी पाँचौं संस्करणको मेला आयोजना गर्न लागेको जानकारी दियो । 

Advertisement

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मेलामा आगन्तुकहरुलाई यस पटक निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । मेलामा ग्रामीण भेगका केही उद्योगी तथा महिला उद्यमीहरुलाई निःशुल्क स्टल राख्न दिइएको बताउँदै उनले मेला नाफामुखीभन्दा पनि नेपाली वस्तु तथा सामानको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए । मल्लका अनुसार मेलाले अन्तर्राष्ट्रिय क्षेत्रलाई नेपालमा पाइने सामानको जानकारी गराउने छ भने नेपालभित्र लुकेर बसेका उत्पादनहरुलाई प्रवर्द्धन् । 

मेलामा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने जनाइएको छ । यसमार्फत अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने मल्लको भनाई छ । 

यस वर्ष मेलाको पार्टनर कन्ट्रीको रुपमा बंगलादेश रहेको छ । मेला आयोजना गर्नमा नेपालस्थित बंगलादेश दूतावासको सक्रिय सहभागिता रहेको नेपाल चेम्बरले जानकारी दियो । 

एक्स्पोमा अटोमोबाइल, विद्युतीय सामग्री, फ्लोरिङ एण्ड फर्निसिङ, घरायसी सामान, सजावटका सामान, तयारी पोषाक, मोबाइल, हस्तकला, जुत्ता चप्पल तथा छालाका सामान, कस्मेटिक्स, फुड एण्ड डेरी प्रोडक्ट्सलगायत सामग्रीहरू प्रदर्शनीमा राखिने छ । एक्स्पोमा १५० वटा स्टलहरू रहने र एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा विशेष सार्क राष्ट्रका देशहरुमा उत्पादित सामग्रीहरू रहने जनाइएको छ ।

Advertisement

Advertisement