बलात्कार आरोपी मनोज पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर

Advertisement

काठमाडौँ । बलात्कारको आरोप लागेका मनोज पाण्डेविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । एक सौन्दर्य प्रतियोगीलाई आठ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको आरोप उनीविरुद्ध दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको छ । 

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । 

Advertisement

उनले सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक मोडललाई एभरेष्ट होटलमा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको, फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको भन्दै पीडितले टिकटकमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी थिइन् । पाण्डेविरुद्ध अर्की एक बालिकाले पनि आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

ती घटनाहरु सार्वजनिक भएसँगै चर्को विरोध भएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले अनुसन्धान सकेर मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा आज मुद्दा दायर भएको हो । 

मुद्दामा मानव बेचबिखन तथा ओसारपोसारमा अधिकतम १५ वर्षसम्म र बाल यौन शोषणमा तीन वर्षसम्म कैद सजाय माग गरिएको छ । 

Advertisement

Advertisement