ग्लोबल आइएमई बैंक र बीओकेबीच मर्जर सम्झौता, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बी मर्जर सम्झौता भएको छ। 

आज बिहान होटल याक एण्ड यतिमा आयोजित एक समारोहका बीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Advertisement

दुवै बैंक एक बराबर एक कित्ता सेयर (१ः१)  स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । 

दुई बैंक मर्जर पछि कूल चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपियाँ पुग्ने छ । यसअघि जनता बैंक ग्लोबल आइएमईमा मर्ज भई सबैभन्दा धेरै चुक्ता पूँजी भएको बैंक भएको थियो भने अब पनि पुनः बीओकेसँग मर्ज भएपछि सबैभन्दा ठूलो बैंक हुनेछ । 

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बीओकेको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । 

ग्लोबल आइएमई र बीओकेको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको हो ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ । 

साथै, दुवै बैंकले जेठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ । 

Advertisement

Advertisement