नक्कली भुटानी शरणार्थी बनाउँदै सयौंलाई अमेरिका लाने प्रयास, ५० भन्दा बढी पीडितले दिए उजुरी

Advertisement

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली प्रमाणपत्र तयार गरेर अमेरिका पठाउने भन्दै सयौंसँग करोडौं उठाउन गिरोह नै सक्रिय रहेको देखिए पनि उनीहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ । 
 
उक्त गिरोहका विचौलियाहरुलाई दशदेखि बीस लाख रुपियाँ रकम बुझाउनेहरुले आफूहरुमध्ये ५० जनाभन्दा बढीले नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा मिनभवनमा उजुरी दिइसकेको सो महाशाखाका प्रमुख वसन्त कुवरले जानकारी दिए । 

तर उनले अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको र आफूहरुले अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए । पीडितहरुले आफूहरुलाई भुटानी शरणार्थीको रुपमा अमेरिकाको स्थायी बासिन्दा बनाएर पठाउने र त्यसका लागि ३५ लाख बुझाउनुपर्ने शर्त राख्दै पैसा लिएको बताएका छन् । 
 
कुवरले पैसा बुझाउनेहरुसँग सम्पर्कमा आएकाहरुको निगरानी गर्ने र थप छानविन गर्ने काम भइरहेको बताउँदै गृह मन्त्रालयका कर्मचारीसहित नेताहरुको संलग्नताको भने अहिलेसम्म फेला नपरेको दावी गरे । पीडितहरुले भने यसमा गृह मन्त्रालयका कर्मचारीदेखि केही नेताहरुकै संलग्नता र संरक्षण रहेको दावी गर्दै सोही कारण गिरोहका सदस्यहरुलाई पक्राउ गर्न ढिलाई गरिएको बताउँछन् । 

Advertisement

उजुरी दिनेमध्येका एक पीडितले भने, ‘पूर्वदेखि पश्चिमसम्म ठाउँ ठाउँमा विचौलियाहरुबाट अमेरिका पठाउने भन्दै पैसा उठाउने काम भइरहेको छ । यसमा संलग्न दुई जनालाई पक्राउ पनि गरिएको थियो  । अहिले उनीहरुलाई छोडिएको छ । प्रहरीले उल्टै हामीलाई ‘किन पैसा बुझाएको त ? तिमीहरुलाई नै पक्राउ गरेर जेल हाल्छौं अब’ धम्क्याउने काम गर्छ ।’

अमेरिकामा भन्दा राम्रो अवसर आफ्नै मुलुकमा भए कोही पनि लाखौं खर्च गरेर जोखिम मोलेर विदेश जान नखोज्ने भन्दै उनले धेरै जनासँगै चरणबद्धरुपमा रकम उठाउने काम गरिएको बताए ।

पूर्वी नेपालको झापाका विभिन्न स्थानमा शरणार्थी जीवन बिताइरहेका भुटानीलाई अमेरिकाले स्थायी बसोबासको अनुमतिसहित आफ्नो मुलुकमा लगे पनि सन् २०१७ बाट भने यो रोक्किएको छ । छुटेकाहरुलाई पुनः लैजाने तयारी उसले गरेको बेला नेपालको गृहमन्त्रालयबाट शरणार्थीको प्रमाण बनाई सयौंबाट पैसा उठाउने काम भएको हो । 
   
वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले अहिलेसम्म १० करोडभन्दा बढी ठगी भएको 
उजुरी आएको र आउने क्रम जारी रहेको जानकारी दिए । सरकारी संयन्त्र नै प्रयोग गरेर नक्कली व्यक्तिको सक्कली प्रमाणपत्र तयार गरी अमेरिका मानव तस्करी गर्ने कार्यमा, नेकपा एमालेका नेता रामबहादुर थापा, माओवादी नेता शक्ति बस्नेत, नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीलगायतको नाम जाडिएको छ । 

गृह मन्त्रालयको संयन्त्रले नै नक्कली व्यक्तिलाई निरीक्षणको नाममा झापास्थित शरणार्थी शिविरमा पठाउँदै शरणार्थी भएको प्रमाणीकरण गर्ने र परिचयपत्र प्रदान गर्ने काम भएको पीडितहरुको दावी छ । विचौलियाहरुले लुकेर अमेरिका जाँदा ५० लाखसम्म खर्च हुने, शरणार्थी भएर जाँदा ३५ लाखले पुग्ने, कुनै जोखिम पनि नहुने भन्दै मानिसहरुसँग पैसा उठाउने गरेको पाइएको छ । 

उनीहरुले झापा, मोरङ, सुनसरी, इलाम, दाङ, अर्घाखाँची, सल्यान, बागलुङ, गोर्खा, कास्कीलगायतका युवाबाट पैसा उठाएको उजुरीबाट देखिएको हो । पीडित भन्छन्, ‘सरकारी संयन्त्रका मानिसको संलग्नता र संरक्षणविना यस्तो काम हुनै सक्दैन् ।’ गृह मन्त्रालयका सहायक प्रवक्ता वसन्त भट्टराईले भने आफूले शरणार्थीको नाममा ठूलो रकम उठाएको सुने पनि यसबारे थप जानकारी नरहेको बताउँदै गृह मन्त्रालयकै कर्मचारीको संलग्नताबारे प्रवक्ता मणिन्द्रमणी पोखरेललाई सोध्न आग्रह गरे । पोखरेलले भने फोन उठाएनन् ।  

पीडितहरुले दिएको नामअनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा नीरज राई, सन्देश शर्मा, केशव दुलाललगायत व्यक्तिहरु भुटानी शरणार्थीका नाममा मानिस अमेरिका पठाउन सक्रिय छन् । 

गिरोहले अमेरिका पठाउने भन्दै सुरुमा पाँच लाख माग्ने, शरणार्थी प्रमाणीकरण भएर प्रमाणपत्र हात परेपछि १० लाख माग्ने, ट्राभल अनुमति आएपछि अर्को १० लाख र प्लेनको टिकट आएपछि बाँकी १० लाख अशुल्ने गरेको देखिएको छ । यसरी गैरभुटानीलाई शरणार्थी बनाउँदै अमेरिका लाने गिरोह सक्रिय रहेको प्रमाणहरु बाहिर आएपछि र पीडितहरुले उजुरी दिन थालेपछि अहिले भुटानी शरणार्थी शिविरमा भएको प्रमाणकरणको काम रोक्किएको छ । 
 

Advertisement

Advertisement