बैंकले बीमा चलाउने भन्दा पनि बीमाले बैंक चलाउने होः सिलवाल, पुँजीवृद्धि निर्विकल्प

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीको संख्या धेरै भएकाले मर्जरको विकल्प नरेको बताएका छन् । उनले एउटै पिताको सन्तान धेरै हुँदा सम्पत्ति बाँड्न असहज भए जस्तै बीमा क्षेत्रमा समस्या आएको बताएका छन् । 

सिलवालले बीमा कम्पनीहरुको संख्या धेरै तर व्यवसायको आकार सानो भएकाले बीमा क्षेत्र धरासायी बन्ने अवस्था आएको सोमबार आयोजित एक कार्यक्रममा बताएका हुन् । कम्पनीहरु मर्जरमा जाँदा बीमा क्षेत्र बलियो हुने उनको जिकिर छ । 

Advertisement

यता बीमा कम्पनीका सीईओहरु पुँजी वृद्धिको योजना तयार भइरहेको र आवश्यकताअनुसार मर्जरमा समेत जाने बताउँछन् । मर्जरका लागि समितिले दबाब नदिए हुन्थ्यो भन्ने उनीहरुको आशय देखिन्छ । अधिकांश समितिको पुँजी वृद्धि गर्नुपर्ने निर्णयपछि अधिकांश कम्पनीले मर्जरमा जाने निर्णय गर्नुका साथै साधारणसभाबाट समेत प्रस्ताव अनुमोदन गरेका छन् । 

तर भनेजस्तो पार्टनर पाउन र पाएपछि पनि उससँग सबै कुरा नमिल्दासम्म मर्जरमा गइहाल्न कम्पनीहरुलाई धेरै कुराको कठिनाई रहन्छ । एलआईसी नेपालका सीईओ एलपी दासले पुँजी वृद्धिको निर्णय आफूहरुलाई लागि नपेक्षित भए पनि आफूहरु पूँजी बढाउने निष्कर्षमा पुगेको बताउँछन् । एलआईसी नेपाल भारतीय लगानीको बीमा कम्पनी हो । समितिले पनि विदेशी लगानीका कम्पनीहरुप्रति पुँजी वृद्धिमा सकारात्मक बन्ने र व्यवसाय संचालनमा सघाउने बताउँदै आएको छ ।

पछिल्लो समय दुई निर्जीवन बीमा र तीन जीवन बीमा कम्पनीहरुले मर्जरमा जाने औपचारिक घोषणा गरिसकेका छन् भने अरु पनि भित्री तयारीमा रहेको बुझिएको छ । जसमध्ये रिलायन्स लाईफ इन्स्योरेन्स प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने तयारी रहेको समाचार छ । रिलाइन्स लाइफले यसको टुंगो चाँडै लाग्ने बताएको छ । अरु कम्पनीहरु आफूसँग मिल्ने पार्टनरको खोजीमा रहेको बताउँदै आएका छन् । 

समितिका अध्यक्ष सिलवाल मर्जर प्रक्रिया सहज नभए पनि विकल्प नरहेको कुरामा जोड दिन्छन् । उनी भन्छन्, ‘एउटै बाबुको सन्तान धेरै भएको अवस्था छ । सन्तान धेरै भएपछि सम्पत्ति भाग लगाउने हो भने सबै सन्तानले बराबरी पाउने अवस्था हुँदैन् । सबैलाई समान वितरण गर्न संख्या घटाए जस्तै बीमा कम्पनीहरुलाई पनि सबल बनाउन संख्या घटाउनु जरुरी छ ।’

बीमाको बजार अविश्वसनीय रहेको भन्दै सिलवालले कम्पनीहरुले ठूलो कुरा गरेर मात्रै नहुने बताए । उनले पुँजी वृद्धि गर्ने निर्णय गरेको दुई महिना बितिसकेको र आफूहरुले आउँदो चैतसम्मको समय दिएको भन्दै पुँजी बढे मात्रै कम्पनीहरुको दायित्व धारण गर्ने क्षमता बढ्ने बताए । 

बीमा कम्पनीहरुले आफ्नो नाफा खोज्नु स्वाभाविक भए पनि प्रायः जसो घट्नामा दावी भुक्तानी गर्न नै उनीहरुलाई समस्या हुने गरेको बताउँदै सिलवालले बीमाका अभिकर्ताले पनि आफ्नो लागि मात्रै काम गर्ने गरेको बताए । 

उनले भने, ‘व्यवसायको जिम्मा बीमा समितिले लिने होइन । अस्वस्थ प्रतिस्पर्धा भए पनि अभिकर्तालाई कालोसूचीमा अहिलेसम्म राखिएको छैन् । यो कस्तो सम्बन्ध हो  अभिकर्ता र बीमा कम्पनीको ? यस्ता दाबी भूक्तानी गर्न बाँकी धेरै घटना आफूले पाएको उनले बताए । 

बीमा कम्पनीहरुले पाँच पन्नामा अङग्रेजीमा बीमा सम्झौता गराएर बीमित झुक्याउन नमिल्ने भन्दै सिलवालले अन्तर्राष्ट्रिय महत्व भएकाले बीमा कम्पनीले अङग्रेजीमा आफ्ना शर्त लेखे पनि नेपाली जनताले पनि बुझ्ने गरी नेपाली भाषामा पनि अनिवार्यरुपमा लेख्नुपर्ने बताए । 

अहिलेको बजेट धेरै बीमामैत्री 
अध्यक्ष सिलवालले सरकारले आउँदो आर्थिक बर्षको लागि जारी गरेको बजेट विगतका बजेटभन्दा निकै बीमामैत्री रहेको दावी गरे । उनले भने, ‘गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको बजेट निकै फरक छ । यसपटकको बजेट बीमामैत्री छ । बीमा चाहिन्छ भन्ने कुरा पोहोर सालको तुलनामा तीन सय प्रतिशतभन्दा धेरैले सरकारलाई लागेको देखिन्छ ।’

बीमा समिति बीमाको महत्व बुझाउन आफै लागेको भन्दै सिलवालले कम्पनीहरुले आफ्नो प्रोडक्टको राम्रो प्रचार गरे मात्रै पुग्ने बताए । गरिबहरुले बीमाबाट फाइदा पाउनुपर्ने उनको जोड  थियो । बैंकले बीमा चलाउने भन्दा पनि बीमाले बैंक चलाउने हो भन्दै सिलवालले ‘हामीले विश्वका ठूला ठूला टावरहरु हेर्यो भने ती सबैको जोखिम बीमाले बहन गरेको हुन्छ ।’  

Advertisement

Advertisement