लगातार जित्दै आएको नेपाली महिला क्रिकेट टिम हङकङसँग भने पराजित

Advertisement

काठमाडौं । एसीसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत मंगलवार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । 

मलेसियाको किनरारा ओभलमा मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । 

Advertisement

समूह चरणका तीन खेलमा जित हासिल गरेको नेपाल अन्तिम खेलमा भने पराजित भएको हो । यद्यपि अंकका आधारमा नेपाल यसअघि नै सेमिफाइनल चरणमा प्रवेश गरिसकेको छ । कमजोर टिमहरुलाई सजिलै हराएको नेपाली महिला क्रिकेट टिमलाई बलियो हङकङलाई हराउन मुस्किल भएको छ । 

एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । नेपाल चार खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अब नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा नेपालले प्रश्स्तुत गरेको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि १ सय ९ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । 

उनले ३६ बलमा चार चौका प्रहार गरिन् । यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट निकाले । च्याम्पियनसिपको फाइनल टोलीले एशियाकपमा स्थान बनाउनेछन् ।

Advertisement

Advertisement