आगामी दिनमा उडान सेवा अवरुद्ध गर्दैनौँः बुद्ध एयर

Advertisement

काठमाडौं । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गरेका छन् । 

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पार्दै सेवा नियमित गरेको जनाएको छ । 

Advertisement

बुद्धले आज विज्ञप्ति प्रकाशित गरी वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै आगामी दिनमा आफ्नो कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने गरेका हुन् । वार्तामा संघले अघि सारेका मागबारे आज दिउँसो पुनः छलफल गर्ने गरी हवाई यातायात नियमित राख्ने सहमति भएको थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताएका थिए । मंगलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गत आइतबार बसेको  प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो । 

कम्पनीका अनुसार हाल काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाजहरू रहेको र यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको छ । सो कारण नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवाहरुलाई त्यसभन्दा बढी जहाजहरू काठमाडौँ बाहिर रात्रि बिसान गर्न निर्देशन दिएको कम्पनीले जानकारी छ । 

बुद्ध एयरको विज्ञप्तिमा भनिएको छ, ‘आजको परिस्थितिमा पार्किङ थलोमा सुधार भएको छ र अहिले १७ वटा जहाजहरू भन्दा बढी रात्रि बिसान हुने अवस्था छ । नागरिक उड्डयन प्राधिकरणले सोही अनुरूप काठमाडौँमा रात्रि बिसान हुने जहाजहरूको सङ्ख्या बढाउने आश्वासन प्राप्त भएको छ । यसले नेपाली यात्रुहरूलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ ।’

Advertisement

Advertisement