अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

Advertisement

काबुल । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।

देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो । 

Advertisement

खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन् । 

भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । 

भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार विहान १।३० बजेतिर भूकम्प आएको हो । 

घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन् । 

भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । सो संस्थाका अनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । 

तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।  

घटनास्थलबाट विवरणहरू संकलन गर्ने कार्य भइरहेकाले क्षतिको पूर्ण र यथार्थ विवरण आउन बाँकी नै रहेको पनि उनले बताए । 

तीन दशकमा गएका ठूला भूकम्प र क्षति
पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् । 

करिब तीस बर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ । सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार ५०० जनाको मृत्यु भएको थियो ।

फेब्रुअरी १, १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो । यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस भएको थियो ।

सन् १९९८ मा पनि अफगानिस्तानलाई दुईवटा ठूला भूकम्पले देशलाई हल्लाएका थिए । 

पहिलो फेब्रुअरी महिनामा नै भूकम्प गएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ५.९ रेक्टर स्केलको फेब्रुअरी ४, १९९८ मा उत्तर–पूर्वी प्रान्त ताखारमा केन्द्र विन्दु रहेको उक्त भूकम्पमा परी चार हजार ५०० व्यक्तिको मृत्यु भएको थियो । हजारौं घरबारविहीन भएका थिए । सोही बर्ष मे ३० मा गएको अर्को ६.६ रेक्टर स्केलको भूकम्प पनि ताखरलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । भूकम्पको धक्काले सुदूर उत्तर–पूर्वी प्रान्त बदाखशन पनि प्रभावित भएको छ । यसमा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको थियो । भूकम्पका कारण एक हजार ५०० जना घाइते भएका थिए र थुप्रै गाउँहरू ध्वस्त भएका थिए ।

२००२ मार्च ३ मा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशको उत्तरतर्फ धक्का दिएको थियो । सामांगन प्रान्तमा केन्द्रविन्दु रहेको उक्त भूकम्पमा परी १५० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । 

त्यस्तै मार्च २५ मा आएको अर्को भूकम्पमा परी ८०० भन्दा बढी मानिसको ज्यान गएको थियो । हिन्द कुश रेन्जको फेदमा रहेको बागलान प्रान्तमा हजारौं घरबारविहीन भएका थिए । भूकम्पमा परी २० हजार जनसंख्या भएको नहरिन शहर पूरै ध्वस्त भएको थियो ।

जून ११, २०१२ मा ५.२ देखि ५.७ रेक्टर स्केलका तीनवटा भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो र बागलान प्रान्तका थुप्रै घरहरू ध्वस्त पारेको थियो । चार जनाबाहेक सबै मुल्ला जन गाउँका रहेका थिए र उनीहरूले भूकम्पपछि गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । 

अक्टोबर २६, २०१५ मा, अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश रेन्जमा पछिल्ला केही दशक यता अफगानिस्तानमा गएको सबैभन्दा शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी ३८० जनाको मृत्यु भएको थियो । रासस/एएनआई 

Advertisement

Advertisement