मन, वचन र कर्ममा सामन्जस्य कायम गर्नु नै योग हो

Advertisement

शिरीषवल्लभ प्रधान
मानिस जति आधुनिकता र विकासतर्फ लम्कन्छं, त्यति नै उसको जीवन जटिल, तनावग्रस्त र संकटपूर्ण बन्दै गएको पाइन्छं । मानिसकोे जीवन सामान्यतया क्रोध, भय, चिन्ता, व्देष, ईष्र्या जस्ता भावनाहरुले भरिएको हुन्छ र ऊ त्यसैलाई सहज वा स्वाभाविक भन्ठान्छ । तर योगसूत्रका सूत्रधार महर्षि पत ञ्जलीका अनुसार मानिसको मन स्वभावले. नै शान्त छ र मनको चञ्चलता अवरुध्द भएपछि त्यो आफ्नो वास्तविक स्वरुपमा फर्कन्छ । हामीले बाहिरी वातावरणीय प्रदूषण हटाउने उपाय त पत्ता लगाएका छौै तर त्यो भन्दा पनि घातक मनोवैज्ञानिक, भावनात्मक तथा वैचारिक प्रदूषणको प्रभावबाट कसरी मुक्त हुने हामीलाई भन्ने बारे हामीमध्ये कमैले मात्र सोचका छौं । वास्तवमा योग नै त्यो अचूक उपाय हो, जसले हामीलाई शारीरिकरुपले स्वस्थ मात्र बनाउंदैन, मानसिकरुपले तनाव मुक्त पार्नुका साथै आध्यात्मिक सुखको अनुभूति गराउंछ । वास्तवमा योग भनेको आफूले आफैलाई हेर्ने वा महशुस गर्ने प्रकृया हो । योग आफूले आफैलाई चिन्ने पध्दति हो । सामान्यतया मानिसहरु योग भन्नाले शारीरिक स्वास्थ्य सम्बन्धी अभ्यास मात्र बुझ्छन् । योग भन्नाले कसरत वा व्यायाम मात्र हैन, त्यसका धेरै आयामहरु छन् ।

संस्कृतको युज्धातुबाट योग शब्द बनेको छ, जसको अर्थ हो जोड्नु । तसर्थ योगको अर्थ हामीले आफूलाई समग्र चेतना वा समग्र अस्तित्वसंग जोड्ने भन्ने बुझ्न सकिन्छ । योग भनेको जीवनलाई त्यसको सम्पूर्णतामा ज्युने कला हो । जब मानिस सबै प्रकारका व्दन्व्दहरुबाट छुट्कारा पाउंछ र मन शान्त हुन्छ, तब योगको अवस्थामा पुग्छ । योगले हामीलाई कसरी अनुशासित भएर तथा कसरी सन्तुलित तवरले ज्युने भन्ने शिक्षा दिन्छ ।

Advertisement

महर्षि पतञ्जली रचित योगसूत्रको व्दितीय सूत्रमा भनिएको छ, 
योगश्चित्तवृत्तिनिरोधः (योगसूत्र १.२) । अर्थात्, योग भनेको चित्तको वृत्ति वा विचारका तरंगहरु शान्त पार्ने पध्दति हो । मानिसको मन स्वभावैले चंचल हुन्छ र त्यो मनको चंचलतालाई शान्त पार्ने उपाय योगले सिकाउंछ ।

त्यसैगरी तेश्रो सूत्रमा भनिएको छ,
तदा द्रष्टु स्वरुपेनवस्थानम् (योगसूत्र १.३) अर्थात्,
जब मन वृत्ति रहित हुन्छ त्यस अवस्थामा मानिस आफ्नो वास्तविक स्वरुपमा अवस्थित हुन्छ, । आत्मा सबै कर्महरुको साक्षी वा द्रष्टा हो र जब मन शान्त हुन्छ, तरंगरहित हुन्छ, त्यसवखत ऊ आफ्नो वास्तविक स्वरुपमा अवस्थित ह्न्छ । जसरी कुनै तलाउको पानी निर्मल र तरंग रहित भएपछि त्यहां हामी आफ्नो सफा प्रतिविम्व देख्न सक्छौं, त्यसैगरी चित्त शान्त भएपछि त्यहां आफ्नो असली स्वरुपको दर्शन हुन्छ । 

त्यस्तै चौथो श्लोकमा भनिएको छ,
वृत्तिसारुप्यमितरत्र (योगसूत्र १.४), अर्थात्, अन्य अवस्थामा मानिसको स्वरुप जस्तो वृत्ति छ, त्यस्तै हुन्छ । जब चित्त वृत्ति वा तरंग रहित हुन्छ, त्यस अवस्थामा त्यो आत्मा आफ्नो असली स्वरुपमा अवस्थित हुन्छ । तर जब चित्तलाई वृत्तिहरुले ढाकेको हुन्छ, त्यसवखत आत्माले पनि वृत्तिकै स्वरुप ग्रहण गर्छ अर्थात् विकारले युक्त मलीन हुन्छ ।
यस कुरालाई यसरी बुझ्न सकिन्छ,
शान्त तलाउमा जब कसैले ढुंगा फाल्छ, त्यहां तरंग पैदा हुन्छ र तलाउ एकप्रकारले अशान्त हुन्छ । त्यसबखत त्यहां हामीले आफ्नो अनुहार हेरेको खण्डमा त्यो अनुहार पनि तरंग जस्तै टेढो वा खण्डित स्वरुपमा देखिन्छ । तर जब त्यो तरंग शान्त भै तलाउ निश्चल हुन्छ, तब त्यहां हामी आफ्नो अनुहार जस्ताको तस्तै सफा देख्न सक्छौं । ठीक त्यस्तै यदि हाम्रो चित्तको वृत्ति शान्त भएको खण्डमा त्यहां आत्माको वास्तविक स्वरुप देख्न सकिन्छ । तर यदि चित्त तरंगीत वा वृत्तिले युक्त भएमा त्यसमा आफ्नो असली स्वरुप प्रष्ट देखिंदैन, केवल खण्डित स्वरुप मात्र देखिन्छ ।

योगको अर्थ जोड हो, एकता हो । तसर्थ योगले हामीलाई मन, वचन र कर्मवीच सामान्जस्य कायम राख्ने शिक्षा दिन्छ । हामीले जे सोच्छौं, त्यही बोल्न र त्यही गर्न पर्छ, मनमा संशय र व्दन्व्द लाई स्थान दिनु हृन्न । मन, वचन र कर्ममा तादात्म्य राख्न सक्ने व्यक्ति नै वास्तवमा योगी कहलिन्छ । तर हामी मध्ये. धेरैजसो मनमा एउटा कुरा, मुखमा अर्को र व्यवहारमा झन् बेग्लै कुरा गर्ने गर्छाैं। यसरी हामीले विरोधाभाषपूर्ण गतिविधि वा प्रवृत्तिलाई प्रश्रय दिएमा त्यसले व्दन्व्द निम्त्याउंछ र हामी अनेकप्रकारका समस्याग्रस्त हुन्छौं । त्यही व्यक्ति योगी कहलिन्छ, जसको व्यक्तित्वमा एकरुपता हुन्छ अथवा जसको व्यक्तित्वमा पूर्णता हुन्छ, खण्डित हुंदैन । व्दन्व्द र तनाव रहित भै सम्पूर्णतामा ज्यूने व्यक्ति नै वास्तवमा योगी हो ।

योग जोडिने प्रकृया हो, चाहे त्यो आत्मासंग परमात्माको मिलन होस् वा समष्टिसंग व्यष्टिको एकता । यसरी योगले हामीलाई समग्र अस्तित्वसंग एकाकार भएर ज्यूने कला सिकाउंछ ।

पतन्जलीको योगसूत्रमा योगका ८ चरणहरुबारे वर्णन गरिएको छःः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि । त्यस अन्तर्गत व्यक्तिगत अनुशासन, सामाजिक अनुशासन, शारीरिक व्यायाम, श्वासप्रश्वासका विविध क्रिया, इन्द्रियको अन्तर्मुृखीकरण, एकाग्रता, ध्यान र अन्त्यमा चित्तवृत्तिको पूर्ण निरोधको अवस्था जसलाई समाधि भनिन्छ, पर्दछन् । 

योगव्दारा के कस्तो लाभ हुन्छ भन्नेबारे श्वेताश्वतरोपनिषद् मा भनिएको छ, जसले पन्चभूतमय योग गुणहरुको अनुभव भै योगाग्निमय शरीर प्राप्त गर्छ, उसलाई न कुनै रोग हुन्छ, न वृध्दावस्था प्राप्त हुन्छ न उसको अकाल मृत्यु नै हुन्छ श्वेता.२.१२) । योग सिध्दीको लक्षणबारे सोही उपनिषद्मा भनिएको छ, त्यस्ता व्यक्तिको शरीर हलुका हुन्छ, निरोगी हुन्छ, विषयाशक्ति निवृत्ति हुन्छ, शारीरिक कान्ति उज्ज्वल हुन्छ, स्वरमा मीठास हुन्छ, सुगन्धमय हुन्छ र मलमूत्र न्यून हुन्छ (श्वेता.२.१३) ।

योग वास्तवमा शरीरलाई स्वस्थ राखेर मनलाई संयमित र सन्तुलित बनाई जीवनलाई सम्पूर्णतामा ज्युने कला हो । नियमित योगको अभ्यास गर्नाले चिन्ता, तनाव तथा रोगबाट मुक्त भै हाम्रो जीवन सुखमय तथा आनन्ददायी हुने कुरामा शंका गर्ने ठाउं छैन ।

Advertisement

Advertisement