मानिस किन धनी हुन सक्दैन ?

कृष्णमणि पराजुली
संसारका सबै जसो मानिसहरुले धनी हुने चाहना राखेका हुन्छन् । एउटा सानो तोते बोल्ने बालकले समेत अरु साथीसंग भएका चीजबिजभन्दा आफूसंग बढि भए हुन्थ्यो भन्ने चाहना ब्यक्त गरेको हुन्छ । बच्चा जति जति बढ्दै जान्छ, उसका चाहना पनि बढ्दै गएका हुन्छन् । चाहना बढ्दै जानु भनेको अरु भन्दा सम्पन्न हुन खोज्नु हो । यसरी धनी एबं सम्पन्न हुन चाहने प्रवृत्तिको विकास शुरुको अबस्था देखिनै भएको पाईन्छ ।

यो बिषय ज्यादै नै गहन बिषय छ सबैको लागि । सबै मानिस आफू धनी नै हुन चान्छन् । तर सबै धनी हुन सक्दैनन् । को धनी को गरीब भनेर छुट्टयाउन पनि त्यत्तिकै कठिन छ । दुई व्यक्तिबीच तुलना गर्दा धनी र गरीब केही हदसम्म छुट्टयाउन सकिएला । यद्यपि त्यो पूर्णता भने हुन सक्दैन । दुबै व्यक्ति धनी हुन अनबरत लागि रहेका अबस्थामा को अघि पुग्दछ, यसै भन्न सकिदैन । त्यसैले धनी को हो भन्ने कुरालाई तुलनात्मक रुपमा लिनु पर्ने भएकोले यो प्रश्न अनुत्तर नै रहेको हुन्छ ।

यहाँ एउटा प्रसंग मलाई जोड्न मन लाग्यो । एक पटक मेरा साथीले भनेको कुरा याद आयो । उहाँले छोरालाई भन्नु भएछ,– ‘अब अलि ब्यबस्था गर्नु पर्यो अर्थात् सम्पत्ति जोडजाड गर्नु पर्यो । सधै आजको लागि मात्र बिचार गरेर भएन । भोलीको लागि पनि त चाहियो ।’ बाबुले भन्न नसक्दै छोराबाट उत्तर आई हालेछ । ‘हामीले जति कमाए पनि धनी कहिल्यै हुन सकिदैन । त्यस कारण पुग्न नसकिने बाटो जानुभन्दा त्यतातिर जाँदै नजानु राम्रो’ भनेपछि उहाँको चित्त बुझेछ । त्यसपछि यो बिषय सधैको लागि बन्द भएछ ।

हुन पनि हो निरन्तर रुपमा अघि बढी रहने बिषयको पुग्ने ठाउँ नै हुँदैन । अथवा गन्तब्य हुँदैन । जति गएपनि त्यो गन्तब्य कहिल्यै भेट्न सकिदैन । त्यसकारण यसता असफल प्रयासमा लाग्नु भन्दा नलाग्नु नै बेस । यसोभन्दा पनि यो दार्शनिक विचार जस्तो देखिन आउँछ होला । यद्यपि मानिसले यसबारे गहन रुपमा बिचार गर्ने हो भने ब्यर्थमा समय खेर नफाले हुन्छ ।

धनी हुन चाहने प्रवृत्ति शहरको तुलनामा ग्रामिण भेगमा बढी भएको देखिन्छ । शहरमा धेरै मानिस हुने र सबैको अबस्था बुझ्न पनि नसकिने भएकोले नै हुन सक्दछ । बिभिन्न मानिसबीच को धनी भनी यकिन गर्न त सबैको सम्पत्तिको जानकारी हुनु नै पर्यो । तर शहरमा सामान्य किसिमबाट तुलना गरी छुट्याउने कार्य कठिन हुने गर्दछ ।

गाउँ घरमा आजकल पनि धनी हुने प्रबृत्तिले स्थान पाई आएको छ । पहिले पहिले आफ्नै पसिनाको कमाईको तुलनामा आफूलाई सर्बश्रेष्ठ बनाउनेतर्फ आफ्ना गतिबिधि अघि बढाएका हुन्थे भने आजकल तुरुन्तै क्षणभरमा धनी हुने तिर मानिस लागेका देखिन्छन् । तुरुन्तै धनी हुन खोज्नु भनेको परिश्रमको बाटो परित्याग गरी अन्य उपाय अबलम्बन गर्नु नै हो । त्यसकारण आजको हाम्रो समाजमा बिकृति बढ्दै जानुको यो एक कारण पनि हो ।

दुर्गम तथा बिकट मा बस्ने मानिसहरुको अबस्थामा अहिलेसम्म पनि आशा लाग्दो प्रगति हुन सकेको छैन् । गांस, बास र कपासको खोजिमा उनीहरु भौंतारिँदै लेकबाट बेसी, बेसीबाट पहाड र पहाडबाट तराई झर्दै आएका देखिन्छन् । त्यतिले मात्र पुगेको छैन उनीहरुलाई । गास, बास र कपासकै खोजीमा कतिपय जनसंख्या खाडी मुलुकहरुमा पुगेको पनि छ । यसरी चाहार्दै हिड्नुमा जीवन यापन गर्नको लागि नै हो । यो एक प्रकारको धनी हुने तृष्णा नै हो । तृष्णा लाग्नु भनेको धनी हुने चाहना हो । यो तृष्णा अथवा चाहना फरक फरक हुने गर्दछ । एउटा जो कोही जग्गा, जमिन, घर नहुनेको तृष्णा गास, बांस र कपास भए पुगी हाल्छ । तर आधारभूत आवश्यकता उपभोग गरिरहेको मानिसलाई उपल्लो दर्जाको सुबिधाको चाहनातर्फ आकर्षित भएको हुन्छ । मानिस विवेकशील भएको हुँदा उ महत्वाकांक्षी पनि हुन्छ । महत्वाकांक्षी नहुने हो भने उसको प्रगति पनि हुन सक्दैन । किन मानिस ले आफ्ना चाहनामा बृद्धि गर्दै धनी हुन चाहन्छन् भन्ने बिषयमा तलका प्रकरणमा केही उल्लेख गरिएको छ ।

धनी हुनु भनेको अरुले इज्जत गर्नु वा समाजमा प्रतिष्ठित हुनु हो भन्ने बिचारको विकास भएको देखिन्छ । धनी नभईकन सम्मान र इज्जत नहुने भन्ने भावनाले गर्दा नै मानिसहरुको भिड त्यसतर्फ केन्द्रीत हुन पुगेको छ । जसरी पनि धनी हुने विचारले गर्दा समाजमा बिकृति, बिसंगति र अपराधले ठाउँ लिन थालेको छ । धनी भएकै कारणले गर्दा मानिसहरुले भौतिक सुविधाको उपभोग गर्न पाई जीवन आनन्दमय हुने गर्दछन् । ऐस आराम, सुख सुबिधा आदिबाट पूर्णता भएपछि उतिर मानिसको भिड पनि लाग्ने हुन्छ । मान, मर्यादा, ईज्जत पनि बढेको हुन्छ । यो कारणले गर्दा पनि मानिस धनी भएर अरु भन्दा भिन्न हुन चाहेको हुन्छ ।

आफू सम्पन्न हुनको लागि मानिसको आचरणले गर्न नहुने काम पनि गरेका हुन्छन् । आफू धनी हुनको लागि अरुलाई शोषण गरेका घटना थुप्रै छन् । यस किसिमका घटना गाउँ घरमा प्रशस्तै भेटिने गर्दछन् । मान्छेले मान्छेलाई शोषण गर्नु भनेको जघन्य अपराध नै हो । अपराध गर्दै जानु, अनि धनी पनि हुँदै जाने कार्यले गर्दा आजभोली हाम्रो समाज बिग्रिदै गएको देखिन्छ । प्रत्येक दिन हत्या हिंसा भइनै रहेका छन् । यसो हुनुको मूल कारक तत्व भनेको धनी हुन खोज्नु नै हो ।

गाउँका रैथाने र केही जाने बुझेकाहरुले नै सिधासाधा मानिसहरुलाई उनीहरुको सम्पत्ति हडप्न अनेक प्रपन्च गरेका हुन्छन् र हडपेका पनि छन् । सापटीको रुपमा केही रकम दिनु, अनि त्यही रकमलाई बर्षै पिच्छे चर्को ब्याज हिसाब गरी अस्वाभिक रुपमा मूलधनको बृध्दि गराएका हुन्छन् । यस किसिमको रकम तीर्न नसक्ने हुँदा आखिरमा उनीहरुले आफ्नो घर जग्गा नै दिन बाध्य हुनुपर्ने स्थिति अद्यापी देख्न सकिन्छ । यसरी टाठा बाठाहरुले अरुलाई शोषण गरी आफू धनी हुने गरी आएकै छन् ।

आजकल मानिसहरु जतिसक्यो छिटो धनी हुने होडबाजी नै चलेको छ । कुनै उद्योग, धन्दा, कलकारखाना, व्यवसाय सन्चालन गर्न धेरै समय लाग्ने र आम्दानीको सुनिश्चितता पनि नहुने भएकोले ठगीको धन्दा बढ्दै गएको छ । ठगीको धन्दाले तत्कालै धनी बनाउने भए पनि यो दीगो नहुने हुन्छ । यो जान्दा जान्दा पनि मानिसहरु धनी हुनको लागि यसैको पछि लागेका हुन्छन् ।

धनी हुने अर्को पक्ष भनेको पैतृक सम्पत्ति पनि हो । केही टाठाबाठाहरुले आफ्नै दाजुभाईलाई अनेक किसिमबाट ठगी गरेर आफ्नो भागमा बढी सम्पत्ति राखेका हुन्छन् । एकै कोखबाट जन्मिएका र एउटै लाम्टा चुसेका दाजुभाईहरुमा समेत रगत र माया ममतालाई तिलान्जली दिई टाठाबाठाहरुले सिधा साधाहरुलाई शोषण गरी आएकै छन् र भित्रभित्रै कानूनी प्रक्रिया पुर्याएर आफ्नो नाममा बनाई सकेका पनि हुन्छन् । शुरुमा बराबर सम्पत्ति छ भन्ने भ्रम श्रृजना गर्दछन्, पछि गएर आफ्नो भनी बेचबिखन र उपभोग समेत गर्दछन् । यस किसिमको परिपाटी गाउँघरमा धेरै नै देखिने गर्दछन् । यो कार्य पनि धनी हुने एक किसिमको बाटो नै हो ।
सहरको कुरा गर्ने हो भने अझ धेरै डरलाग्दो हुँदै गएको देखिन्छ । ब्यापारमा मूल्य बृध्दि, कम गुणस्तरका सामान,कर छली, अबैध ब्यापार, चेलीबेटी बेचबिखन आदि असंख्य उदाहरण प्रस्तुत गर्न सकिन्छ । यसरी धनी हुने चाहनाले हाम्रो समाजको संरचनामै प्रतिकूल प्रभाव पारी रहेको हुदा समयमा नै हामी सबै मिली हाल देखिएको प्रवृत्तिलाई निरुत्साहित गर्न सक्नु नै आजको आवश्यकता हो भन्न सकिन्छ ।

सम्पत्ति जम्मा गर्ने प्रवृत्ति राष्ट्रियस्तरमा मात्र होईन अन्तर्राष्ट्रियस्तरमा समेत बढ्दै गएको पाईन्छ । यसको ज्वलन्त उदाहरण हो एनसेल करछली प्रकरण । यस्तै किसिमले खेलाडी, उद्योगी, व्यवसायी, राजनीतिज्ञ, कर्मचारीहरु कर छलेर सम्पत्ति बढाई धनी हुने प्रवृत्तिका थुप्रै घटनाहरु पत्रपत्रिकामा आई नै रहेका पाइन्छन् । यस किसिमको आर्जित धनले मानिसमा धन प्रतिको तृष्णा जगाउने काम मात्र गर्दछ । तत्कालको लागि उसले आफूलाई सम्पन्न ठाने पनि अन्ततोगत्वा उसको सम्पन्नता दीर्घकालीन हुन सक्दैन ।  पछि उसले आफै पश्चाताप गरेको स्थिति पनि देखिएको छ । यस अवस्थामा उ पछि गएर आफूले आफैलाई दोसी करार महशुस गरेका पनि हुन्छन् । अकुत सम्पत्तिको कारणबाट आफूले आफैलाई समाल्न नसकि आत्महत्या पनि गरेका उदाहरण प्रशस्तै छन् । त्यसकारण पछि पश्चाताप गरी आफूले आफैलाई नास गर्नुभन्दा पहिले नै अनैतिक किसिमबाट धनी हुन चाहने प्रवृत्तितिर नलाग्नु नै सबैको लागि उत्तम उपाय हुन सक्दछ ।

यहाँ बुझ्न पर्ने कुरा के छ भने कति पैसा वा सम्पत्ति भए मानिस धनी हुन सक्छ भन्ने सम्बन्धमा जवाफ अनुत्तरित नै हुन्छ । किनकि धनीको सीमा नै हुंदैन । कुनै निश्चित सीमा नै नभएपछि अन्तिम गन्तब्य नै निर्धारण गर्न सकिदैन । जति कमाए पनि ढुकुटीबाट कहिल्यै नसकिने भएपछि कुवेरको ढुकुटी जस्तै हुने भईहाल्यो । अनि मान्छे धनी हुन सक्यो त ? सबै मान्छे धनी हुन कमाई रहेकै हुन्छन् तर कहिल्यै धनी हुन नसक्ने कस्तो रहेछ मान्छेको जात ?

लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन् ।