‘सरेण्डर’को सीमा पाँच वर्ष बनाउने तयारी, असार अन्तिमसम्मको नतिजा पर्खेका हौंः सिलवाल

Advertisement

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीमा बीमितले ‘सरेण्डर’ गर्ने सीमा फेरि बढाएर पाँच वर्ष कायम गर्ने तयारी गरेको छ । 

चरम बेथिति बढेको भन्दै दुई बर्षको सीमा बढाएर तीन बर्ष गरेको एक बर्ष बित्न नपाउँदै यसलाई बढाएर पाँच बर्ष कायम गर्न लागिएको हो  । यसले बीमा कम्पनीहरुलाई लाभ भए पनि समस्यामा परेको बीमितहरुलाई सरेण्डर गर्न जटिलता थपिने छ । 

Advertisement

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कर्पोरेट नेपालसँग भने, ‘हामीले पहिले पनि सरेण्डरको अवधि दुई वर्षबाट तीन वर्ष बनाएका हौं, तर त्यतिले मात्रै पूर्णरुपमा बेथिति रोकिएको छैन । एउटा अवस्था भनेको बीमित आफै निरुत्साहित भएमा सरेन्डर गर्ने अवस्था आउँछ भने अर्को भनेको अवैध धनलाई वैध बनाउन पनि धमाधम सरेन्डर गराउने र छोटो समयमा नाफा खाने प्रवृत्ति बढ्दो छ ।’ उनले चालु आर्थिक बर्षको असार अन्तिमसम्मको नजित आफूहरुले पर्खिएर बसेको बताउँदै त्यसको नजिताको आधारमा निर्णय गर्ने बताए । 

बीमा कम्पनीहरुले भने सरेन्डरमा नयाँ व्यवस्था कायम भएमा त्यसले बीमित र बीमा क्षेत्र दुवैलाई हित हुने दावी गर्छन् । एकातिर सरेण्डर गर्न नपाउने भएपछि बीमितमा अनिवार्य बीमा गर्ने धारणाको विकास हुन्छ भने अर्को भनेको बीमामा राखेको पैसा बचत र रक्षावरण दुवैमा काम लाग्छ । 

सरेण्डरको सीमा बढ्दा बीमाको पैसा तत्काल झिक्न समस्या भए पनि जे कामको लागि बीमा गरिएको हो, त्यसको लागि भने राम्रो हुने उनीहरु बताउँछन् । बीमाले दिने सुविधा र प्रतिफल प्राप्त गर्नका लागि बीमा निरन्तर हुनुपर्ने भएकाले पनि जीवन बीमामा पाँच वर्षे सरेण्डरको अवधिको पक्षमा बीमा कम्पनी धारणा देखिन्छ । 

एलआईसी नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद (एलपी) दासले बीमा क्षेत्रमा हुने सरेण्डर बीमा कम्पनीका लागि मात्र नभई बीमितका लागि समेत निकै घातक हुने बताउँछन् । 

उनले कर्पोरेट नेपालसँग भने, ‘बीमा गर्ने भनेको सरेण्डर गर्नका लागि होइन् । यो त अन्तिम अवस्थामा बीमितले केही उपाय लागेन भने किनिसकेको सामान बेचेको जस्तै हो । अहिले बीमा कम्पनीहरुलाई सुशासनमा लानको लागि कम्पनीलाई बलियो बनाउँदै बीमितले पाउने सुविधामा पनि सुधार गर्न जरुरी छ । पाँच वर्षे सरेन्डरको व्यवस्था बीमा समितिले ल्यायो भने यो बीमा क्षेत्रको लागि नै राम्रो कुरा हुनेछ ।

त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ सन्तोष प्रसाईले सरेन्डर गर्दा बीमितले पाउने प्रतिफलसमेत गुम्ने भएकाले यसको अवधि बढाउँदा राम्रो हुने बताउँछन् । उनी भन्छन्, ‘सरेण्डर गर्दा बीमितले पाउने प्रतिफल समेत गुम्ने भएकाले सकेसम्म कसैले पनि सरेण्डर गर्नु हुँदैन । बीमा गर्ने भनेको बीमाले दिने प्रतिफल पाउनका लागि हो । त्यसैले पनि अन्तर्राष्ट्रियरुपमा समेत सरेण्डरलाई कडाई गरिएको छ । बीमा समितिले सरेण्डरको अवधि पाँच वर्ष बनयो भने यसले बीमित र बीमा कम्पनी दुवैलाई लाभ पुर्याउँछ ।’ 

उनले सरेण्डरको गर्नुपर्ने अवस्था आएमा बीमितले ऋण लिन सक्ने सुविधा रहेकाले सरेण्डरको अवधि बढाउनु राम्रो बताए । 

Advertisement

Advertisement