Advertisement

Advertisement

Advertisement

कुमार दाहाल। 
‘सक्छौ जागिर नखाउ– सक्तैनौ जागिर खाउ, झण्डामुनि बस– दरबार नपस।’

जसपाउ थापाको यो कथन अहिलेपनि त्यतिकै बलियो छ। त्यतिखेर पनि जागिर खान गाह्रो थियो । दरबारलाई चित्त नबुझेमा पजनीमा परिन्थ्यो। काम होइन, चाकरी ठूलो थियो। भीम मल्ल, भीमसेन थापा इमान्दार थिए। पेशालाई दाउमा राखेर काम गरे। त्यसैले दरबारको दाउपेचमा परे। इतिहासमा यस्ता थुप्रै घटना छन्।

Advertisement

राजतन्त्र सिद्धिएपछि राजा मात्र होइन, एक दरबार पनि सिद्धियो। पहिले एउटा दरबारमा उपस्थिति जनाए पुग्थ्यो। अहिले दरबार छरिएका छन्। कुन दरबार हो र कुन होइन छुट्याउन गाह्रो छ, थाहा पाउन गाह्रो छ। त्यसरी नै जागिरेहरुलाई पनि दरबार चिन्न सजिलो छैन। सबैलाई राजा बन्ने शोख छ। जागिर खाने रहर चलेको छ। निजामती सेवामा लोकसेवा पास गरेपछि जागिर सुरु हुन्छ। यो नै निजामती सेवाको प्रमुख योग्यता हो। त्यसपछि योग्यता बढेको वा घटेको मापन कहिले गरिंदैन। केवल जागिर खाए पुग्छ। जागिर कसरी खाने व्यक्तिलाई परिस्थितिले आफै सिकाउँछ। र क्रमशः जागिरे बन्दै जान्छ, जागिर पेशा बन्दै गएको छ।

अहिले जागिर आकर्षक बनेको छ। राजनीतिक नेतृत्वलाई सरुवा, बढुवा, नियुक्ति गर्न साह्रै मन पर्छ। कर्मचारीतन्त्र यो विषय त्यति रुचाउँदैन। किनकि जागिर खाने बानी परिसकेको छ। राजनीतिमा रहर जाग्नु र प्रशासनमा रहर हराउनुले राजनीतिक उत्साह बढ्छ भन्ने कुरा कर्मचारीतन्त्रलाई राम्ररी थाहा छ, तर जागिर खान थालेपछि यो क्रमशः विलुप्त हुँदै जाँदो रहेछ। जागिर अहिले व्यापारमा परिणत भएको छ। जागिरे र विज्ञ छुट्टिन छाडेका छन्। विज्ञ हुने लोभमा जागिर बिर्सिदै गएको छ। सूचना बिक्री गरेर विज्ञहरु जागिरमा रमाएको देखिन्छ।जसरी पनि सरकारी ढुकुटीबाट जागिरेहरुको चैन छ।

Advertisement

जागिरेहरको शान शौकत नै फरक छ। जो जागिर मात्र खान्छन् उनीहरु जागिरे जस्ता देखिंदैनन्, तर तिनीहरू पनि जागीरे नै हुन्। त्यसैले होला नेपालमा जागिर प्रतिको मोह बढेको छ। तर सधैभरि नेपाली जनता तिनै जागिरेलाई गाली गर्छन् र भन्छन् जागिरे प्रवृत्ति। यो प्रवृत्ति जताततै छ– सरकारी, गैरसरकारी, निजी, न्याय, प्रहरी, व्यापार, पत्रकार, व्यवसाय सबै क्षेत्रमा। किनकि वास्तविक जागिर खान त्यति सजिलो छैन।

जागिर कसले खाने, कसले नखाने भन्ने विषय  लगभग सकियो। राजनीति जागिर, पेशा वा सेवा के हो भन्ने विषयको सीमारेखा सकिएको छ। कर्मचारीले जागिरमा पेशा, सेवा वा व्यापार के गर्दैछ, छुट्टिन छाडेको छ। सबैतिर जागिर जीविका भएको छ। कहीं कुनै क्षेत्र छुटेको छैन। पिता पुर्खाले भन्थे– ‘उत्तम खेती, मध्यम व्यापार, अधम जागिर।’ तर अहिले उत्तम जागिर, मध्यम व्यापार र अधम खेती भएको छ। जागिर र खेतीको बीचमा व्यापार फस्टाएको छ। व्यापारीहरूले सबैलाई आफ्नै जागिरे बनाउन चाहेका छन्। खेतीमा चाहीं जागिर फस्टाएन। किनकि त्यहाँ जागिरे प्रवृत्ति काम लाग्दैन। खेती पेशा हो, जागिर होइन। त्यसैले यो इमान्दार क्षेत्र अहिले पेशा बन्न सकेन। यसलाई पनि जागिरेले ध्वस्त पारेर छाडिसके।

पहिले राजाको सिन्दूर पहिरिनु‌ गौरव मानिन्थ्यो। अहिले कसैलाई पनि राज्यको सिन्दूर पहिरिएको अनुभूति हुँदैन। कोही स्वतःस्फूर्त जागिरे बन्दै जान्छन्, कोही जागिर मात्र खान्छन्। कोही जागिरे मात्र हुन्छन्। यो सीमारेखा नछुट्टिंदा वास्तविक जागिरेहरु ओझेलमा परेकाछन्।  संगठनले न्याय देला भन्ने भर छैन। आफै न्याय खोज्न नहिंड्ने जागिरेहरु संगठनभित्रै हराउँछन्। कर्मचारीतन्त्र भित्र वास्तविक जागिरे खोज्नु भनेको उत्प्रेरणा, मनोबल, उत्साह, उत्तरदायित्व र जिम्मेवारी बढाउनु हो। यो क्रमशः क्षयीकरण हुँदैछ। अब जागिर खान गाह्रो हुँदै गाएको छ।

अन्न, नूनको सोझो गर्दा अहिले कसैले पत्याउँदैन। अहिले नून र गुन सकिएको छ। राम्रो काम गर्ने बरण्डामा पुग्छन्। जागिरेहरु मूल भान्सामा पुगेर खटनपटन गर्छन्। भान्सामा कसरी पुगिन्छ भन्ने नबुझ्नेको के दोषरु अरुले बुझ्ला भनेर आशा गर्नेहरु वास्तविक जागिरे होइनन्। यी त जागिर मात्र खान्छन्। जागिर विस्तारै औपचारिक हुँदै गएको छ। 

‘राजाको काम कहिले जाला घाम !’ जताततै छ। नतीजा भन्दा नजिकमा बढी विश्वास बढेको छ। ठूलाठूला भ्रष्टाचारमा मुछिएका घटनाले कसैलाई लाजमर्दो बनाउँदैन् ।

पहिले ब्रह्मस्व, राजस्व, देवस्व मास्ने कर्मचारी वा नेता दुबै महापातकी मानिन्थे। अहिले यही स्रोत नै कर्मचारीतन्त्र, राजनीति र निजीक्षेत्रको कमाउने र जागिर खाने मुख्य श्रोत भएको छ। पहिले यस्ता रकम मास्ने समाजबाट तिरस्कृत हुन्थे, त्यसैले समाज नैतिक थियो। यस्ता चरित्रलाई समाजले स्वीकार गर्दैनथ्यो। अहिले यस्ता वर्ग नै समाजमा बढी प्रभावी छ, कर्मचारीतन्त्र र राजनीतिमा सम्मानित छन्। पहिले पनि निश्चित वर्गको हालीमुहाली ‌चाहीं थियो। उनीहरुकालागि राज्यका सबै स्रोत पारिवारिक थिए, वर्ग विभाजित थियो। इमान्दार  वर्गले सम्मान पाउन कठिन थियो। इमान्दार सिपाहीले– ‘हजुरको नजर बाङ्गो कि मेरो घाँटी चिलाएको हो, रुख त बाँङ्गै छ।’ भनेर साहस देखाउने केही थिए। अहिले यो शब्द पनि उच्चारण हुँदैन् । फजसो जसो ब्राह्मण त्यसै– त्यसै स्वाहा ! यो प्रवृत्तिले जागिर पेशा हुदै गएको छ, जागिर खान गाह्रो हुँदै गएको छ।  

नेपालमा तलब, समय र जागिर पर्याय जस्तै छन्– टेन टु फाइभ। सबैतिर जागिरको समय एउटै। बैक, निजी क्षेत्रको जागिर तलबको हिसाबले उच्च छ, तर सम्मानित अझै हुन सकेको छैन। अदालत, न्याय क्षेत्रको जागिर पेशामा नमुछिनु पर्थ्यो। यद्यपि यी विषय पनि प्रमुख समाचार बन्दैछन्। राजनीतिमा तलब, सुविधा र समयले महत्व नदिनु पर्थ्यो। समय र सेवा प्रमुख हुनुपर्थ्यो। यो क्षेत्रमा पनि तलब र समयले महत्व पाउँदै गयो। कर्मचारीतन्त्रको त लगभग विशेषतै यही भएको छ। योभन्दा माथि उठेर सोच्नेगरी अब सबैलाई जागिर गाह्रो भएको छ, जागिर खान नसकिने भो !

लेखकको फेसबुकबाट साभार

Advertisement

Advertisement