ब्याडमिन्टनका प्रिन्स र पौडीकी गौरिका उत्कृष्ट खेलाडी घोषित

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिकालाई उत्कृष्ट महिला तथा प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीको रुपमा सम्मान गरेको हो । वर्षभरको प्रदर्शन र  उपलब्धिको आधारमा ओलम्पिक कमिटिले गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको हो । 

Advertisement

यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा पुरुषतर्फ दीपक मगरले उत्कृष्ट प्र्रशिक्षकको सम्मान प्राप्त गरे । नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो । यस्तै राखेपका पूर्व सदस्यसचिव स्वर्गीय शरदचन्द्र शाह, ओलम्पिक कमिटिका पूर्वअध्यक्ष स्वर्गीय रुक्मशम्शेर राणा, एनओसीका सल्लाहकार लोकभक्त राना, ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष धु्रवबहादुर प्रधान, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जितबहादुर केसी, दक्षिण एशियाली खेलकुद (साग) कीर्तिमानी खेलाडी वैकुण्ठ मानन्धर, पूर्वयुवा तथा खेलकुद मन्त्री पुरुषोत्तम थापा, स्पोट्र्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सिनियर खेल पत्रकार श्याम चित्रकार, पहिलो महिला ब्लयाक बेल्ट पाएक सुधासेन मल्ल र महिला राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी एनओसी प्रेसिडेन्टन रिकगनाइजेसन अवार्डबाट सम्मानित भए ।

अन्तर्राष्ट्रिय ओलम्पिकको अवसरमा आयोजना गरिएको अवार्ड विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका निर्देशक चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले अवार्ड प्रदान गरेका थिए । 
 

Advertisement

Advertisement