डिजिटल कारोबार बढ्दा अर्थतन्त्रमा समस्या आयोः अर्थमन्त्री, बेरुजु बढ्नुमा लेखापरीक्षक दोषी

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभामा उनले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखापरीक्षकहरुले गर्नुपर्ने बताए । 

शर्माले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए । उनले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताए । शर्माले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि बताए । 

Advertisement

शर्माले भने, ‘अर्थतन्त्रमा समस्याहरु धेरै छन् । अहिले नयाँ नयाँ डिजिटल प्रविधिहरुबाट कारोबारहरु भइरहेका छन् । ती कारोबारको बारेमा अध्ययन गर्ने कसले हो ? यहाँहरु नै विज्ञ हुनुहुन्छ । यहाँहरुले नै अध्ययन गर्नुपर्छ होला । अहिले युग नै डिजिटलमा जाँदैछ । क्रिप्टो लगायतका तमाम के के थुप्रै कारोबारहरु भइरहेका छन् । यी सबै कारोबारहरुको अध्ययन कसरी गर्ने ? नेपालको अर्थतन्त्रमा कहाँ समस्या छ ? कसले अध्ययन गर्ने त ? लेखापरीक्षकहरुले नै यो संस्थालाई कमजोर छ भन्दै हिँड्ने हो भने कसरी यसको सवलीकरण हुन्छ ? लेखापरीक्षकहरुले त्यतातिर ध्यान दिनुपर्छ ।’

मन्त्री शर्माले लेखापरीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताए । उनले लेखापरीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गरे । मन्त्री शर्माले विभिन्न निकायहरुले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताउनु भयो । उहाँले सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दै जानुमा लेखा परीक्षणलाई तोकिएको विधि मान्यता र समयमा भुक्तानी गरेर अडिट गरी प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको जिकिर गर्नुभयो ।

मन्त्री शर्माले थपे, ‘लेखापरीक्षण कार्यालयहरुमा गएर सरकारले अडिटहरु गर्ने गरिन्छ । फेरि पनि अहिले सरकारको ठूलो ठूलो एकपछि अर्को बेरुजु थुप्रिँदै गइरहेको छ । हाम्रो एकाउन्ट कै समस्या हो । त्यसलाई सही ढङ्गले समयमा निरुपण, अडिट र व्यवस्थापन नगर्दा समस्याहरु परेको छ । अहिले राज्यले थुप्रै बेरुजु खेप्नुपरेको छ । यतै कतै कमजोरी छ । लेखा कमजोरीको कारणले त्यो भएको छ । लेखापरीक्षणलाई तोकिएको विधि मान्यता समयमा नै त्यसलाई भुक्तानी गरेर अडिट गरी प्रमाणित गर्ने व्यवस्थाका समस्या हुन् ।’

अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रुपमा रहेको बताए । उनले आर्थिक सुशासन, जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या, परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताए । शर्माले मुलुकको अर्थतन्त्रमा कस्तो लाभ हुन्छ भन्ने आधारमा मूल्याङ्कन गर्नुको सट्टा व्यक्ति, समूह र गुटगत स्वार्थको आधारमा मूल्याङ्कन गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको गुनासो गरे । 

उनले नेपाल चार्टड एकाउन्टेन्ट्स धेरै संस्थादेखि सरकारको राजस्व तथा करसँग समेत जोडिएकाले पारदर्शिताका साथ काम गर्दा मुलुकलाई योगदान पुग्ने बताए । शर्माले भने, ‘आर्थिक सुशासन र जवाफदेहिता कसरी निर्वाह गर्ने ? विषय नै अहिलेको मुख्य प्रश्न र राष्ट्रिय चुनौती हो । त्यस कारणले जवाफदेहिता र पारदर्शितालाई आफ्ना स्वार्थ, व्याख्या, परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको छ । यो देशको हीतको लागि छ की छैन ? त्यसले मुलुकको अर्थतन्त्रमा के गर्छ ? भन्ने कुराहरुको आधारमा हामीले मूल्याङ्कन गर्नुको सट्टा त्यतातिर मूल्याङ्कन नगरेर व्यक्तिगत, समूहगत, गुटगत स्वार्थको आधारमा मूल्याङ्कन, विश्लेषण गरेर भ्रम सिर्जना गर्ने कामहरु भइरहेका छन् । यी समग्र पक्ष भनेको पारदर्शिता र जवाफदेहिताकै प्रश्नहरु हुन् ।’

Advertisement

Advertisement