‘डाक्टर, इन्जिनियर, पाइलट, वकिलको सुझाव सबैले मान्छन, तर अडिटरको किन मान्दैनन् ?’

Advertisement

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले अनलाइन प्रविधिबाट अडिट (लेखापरीक्षण)मा समस्या रहेको बताएका छन् । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभामा उनले यो वर्षदेखि सरकारका सबै अडिटहरु अनलाइन प्रणालीबाट नै गरेकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको बताए । 

शर्माले अनलाइन प्रणालीबाट लेखापरीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारीहरु सबैमा प्रविधिको जानकारी नहुँदा ठूलो समस्या हुने गरेको बताए । उनले अब नयाँ प्रविधिको ज्ञान सीप सबै लेखापरीक्षकहरुले लिएर क्षमता अभिवृद्धि गर्न आवश्वयक रहेको बताए । 

Advertisement

शर्माले भने, ‘अहिले भर्चुअल तथा अनलाइन प्रविधिबाट अडिट गर्नुपर्यो भने समस्या छ । त्यसमा लेखापरीक्षकहरु कन्सन्ट्रेड नै हुनुपर्छ । हामीले यो वर्षदेखि अडिटको समग्र सिस्टम नै अनालाइनबाट गर्न थालेका छौं । सरकारको जति पनि अडिट जनरल अफिसबाट गर्छ । अनलाइन डिजिटल प्रणालीबाट गरिएको छ । धेरै सजिलो हुँदो रहेछ । शुरुको वर्ष सबै कुराको जानकारी नभएकाले समस्या पनि हुन्छ । गाह्रो कहाँ भएको छ भने व्यक्तिगत रुपमा त्यसमा काम गर्ने कर्मचारीको प्रविधिको जानकारी छैन भने गाह्रो हुन्छ । त्यसले गर्दा प्रोफेसनल सीप प्रत्येक लेखापरीक्षकहरुले बढाउनु पर्छ ।’ 

उनले लेखापरीक्षण गर्ने अडिटरको सुझाव मान्य हुन छोडेको बताए । उनले डाक्टर, इन्जिनियर, पाइलट र वकिलको सुझाव वा काम सबैले मान्ने गरे पनि अडिटरको सुझाव मान्न छाडेको अवस्था देखिएको बताए । 

शर्माले अडिटरहरुले विश्लेषण गरेर आउनुपर्ने निचोड भन्दा फरक निचोड आउने गरेकाले मान्य हुन छोडेको बताए । उनले चार्टर्ड एकाउण्टेन्ट्स संघले लेखापरीक्षणको सीप र ज्ञानको विषयमा स्थानीय जनतालाई पुग्नेगरी प्रचारप्रसार गर्न आग्रह गरे । 

Advertisement

Advertisement