स्टार्टअफ फेष्टमा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाईएफ नेपाल स्र्टाटअप फेष्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । 

शनिबार काठमाडौंस्थित होटेल सोल्टीमा भएको यस कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको हो । मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो । 

Advertisement

नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट तीनसय बढी परियोजना प्रस्ताव आएको परिसंघले जनाएको छ । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतीकरणपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको उपस्थितिमा लगानीकर्ताले ती परियोजनामा इक्वीटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।  

स्वपूँजी लगानीसम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । 

स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनौटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरे । उजले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको पनि बताए । 

यसअघि आज बिहान उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गरेका थिए । उनले आर्थिक संमृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बडूले बताए । 

परिसंंघका अध्यक्ष विष्णु अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताए । नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उनले बताए । 

युवा उद्यमीहरुलाई पूँजीको कारण मात्रै उनीहरुको नविन सोच मर्न दिन नहुनेमा अग्रवालको जोड थियो । उनले भने, ‘नविन सोच भएका युवाहरुलाई प्रोत्साहन गर्नको लागि नै यो कार्यक्रम आयोजना गरेका हौं । एक दिन भव्य कार्यक्रम गरेर मात्रै हामी बस्ने छैनौं । यहाँ सहभागी प्रत्येक परियोजना अगाडि बढ्ने वातावरण बनोस् भन्ने हामी चाहन्छौं ।’ 

राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रवर्द्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधी २०७८ तत्काल पास गरी कार्यान्वयनमा लैजान आग्रह गरे । 

परिसंघका प्रेसिडेन्ट एमिरेटस् विनोद चौधरीले कार्यान्वयनयोग्य योजना लिएर अगाडि बढ्न युवाहरुलाई आग्रह गरे । विश्वमा धनी व्यक्तिहरु निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गरे । चौधरीले भने, ‘आज तपाईंले गर्ने निरन्तरको प्रयासले भोलीको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ । त्यसका लागि धैर्य, लगाव, योजना र प्रतिबद्धता आवश्यक पर्छ ।’ 

नेपालस्थित भारतीय दूतावासका कन्सुलर प्रसन्ना श्रीवास्तव, परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष अमुन थापा, परिसंघ स्टार्टअप अभियान समिति सभापति आयुषी केसीलगायतले उद्यमशीलताबारे प्रस्तुती दिएका थिए । 

स्टार्टअप फेस्टको विभिन्न सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, आइएमई गु्रपका अध्यक्ष चन्द्र ढकाल, वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलिप अग्रवाल, सुमन रायमाझी, स्वाती रुङ्गटा, अनुज शर्मा, यूनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले स्टार्टअपका विविध विधामा प्रस्तुती दिएका थिए । यस्तै विदेशी वक्ताको रुपमा भेन्चर क्याटालिस्ट तथा इन्डीया एन्जल इन्भेष्टरकी पुनम खन्डेलवालले फेस्टमा सहभागी युवाहरुलाई उद्यमशील बन्न अभिप्रेरित गरेका थिए । 

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो । ४० बढी स्टार्टअप्सले आफ्नो बस्तु तथा सेवाको प्रदर्शनी गरेको स्टार्टअप फेस्टमा पाँच हजार बढी युवाहरुको सहभागीता रहेको थियो । 

Advertisement

Advertisement