पर्यटन बोर्डको सीईओ नहटाएसम्म पद नछोड्ने आलेको बालहठ, आजै निर्णय गर्न बोर्डलाई दबाब

Advertisement

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पयटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीलाई नहटाएसम्म आफूले मन्त्री पद नछोड्ने अडान लिएका छन् । 

आलेको पार्टी नेकपा एकीकृत समाजवादी (एस)ले उनलाई फिर्ता बोलाएर अर्कोलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई सिफारिस गरिसके पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएर आलेसहितका मन्त्रीले हेरफेर रोकाएका छन् । मन्त्रीबाट हट्न नमानेपछि नेकपा एसको बैठकमा पनि आलेसहितका मन्त्रीहरुको चर्को आलोचना भइरहेको छ । 

Advertisement

दबाबपछि मन्त्री आलेले पदबाट राजीनामा दिन तयार भए पनि त्यसअघि पर्यटन बोर्डका सीईओ रेग्मीलाई हटाएर मात्रै पद छोड्ने भन्दै आज आइतबार बोर्डको सञ्चालक समिति बैठक बोलाएका छन् । उनले बैठकमा उपस्थित हुन पदेन सदस्य रहेका सम्वन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिसहित सरकारले नियुक्त गरेका सञ्चालकहरुलाई आग्रह गर्दै रेग्मीलाई निलम्बन गर्न दबाब दिएका छन् । 

रेग्मी पर्यटन क्षेत्रको अध्ययन अनुसन्धानमा लामो समय काम गरेका अनुभवी र दक्ष व्यक्तिका रुपमा चिनिन्छन् । उनलाई यसअघि पनि आलेले निलम्बन गर्ने निर्णय गरेकोमा अदालतले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएपछि रेग्मी काममा फर्किएका थिए । मन्त्री भएको केही दिनपछि लण्डनमा पाटा नेपालले आयोजना गरेको कार्यक्रममा ढिलो गरी पुगेपछि बोल्न नपाएका मन्त्री ओलेले त्यसको रिस रेग्मीमाथि पोख्दै आएका छन् । सोही भ्रमणका क्रममा आफ्नो सहयोगीलाई पर्यटन बोर्डबाट हवाई टिकटको पैसा नदिएको अर्को रिस पनि उनले रेग्मीमाथि पोख्दै आएका छन् । 

मन्त्री आलेले आजको बोर्ड बैठकमा बहुमत नपुगे अहिलेका सञ्चालकलाई हटाएर नयाँ नियुक्त गरेर भए पनि रेग्मीलाई हटाएर छोड्ने अडान लिएका छन् । रेग्मीले भने आफूलाइ पुनः अन्यायपूर्वक निलम्बन गरे पुनः अदालत जाने योजना बनाएको उनीनिकट व्यक्तिहरुले बताए । रेग्मीको कामबाट धेरै पर्यटन व्यवसायी खुशी नै रहे पनि आलेले भने व्यक्तिगत मनमुटाव र पार्टीभित्रको रिस पोख्ने काम गरेका छन् । बोर्डका एक सदस्यले रेग्मीलाई हटाउन मन्त्री आलेको दबाब आफूहरुमाथि रहेको स्वीकार गरे । उनले बोर्डमा यस विषयमा छलफल हुने र के निर्णय हुन्छ ? अहिले नै भन्न नसकिने बताए । 

Advertisement

Advertisement