एकल बीमाशुल्कले विकृति बढाएपछि कम्पनीहरु त्रसित, कम्पनीले नै गडबडी गरेका हुन्ः सिलवाल

Advertisement

काठमाडौं । विगत लामो समयदेखि बीमा क्षेत्रमा समस्या बन्दै आएको एकल बीमा शूल्क (सिंगल प्रिमिमय) योजनाले विकृति बढाउन सहयोग गरेको भन्दै बीमा कम्पनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

हरेक आर्थिक वर्षको अन्तिममा बेलुन फुलेको जसरी सूचांकको आकार बढ्ने भन्दै उनीहरुले बीमा समितिले यसको नियन्त्रणलाई ध्यान दिनुपर्ने बताएका छन् । 

Advertisement

बीमा समिति भने एकल बीमाशुल्क योजना आफैमा गलत नभई यसमा बीमित र बीमा कम्पनीले गर्ने अस्वस्थ कार्यहरु खराब रहेको तर्क गरेको छ । समितिले त्यस्ता कार्यहरु रोक्ने बेला आएको बताएको छ । 

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले अन्तर्राष्ट्रिय रुपमा नै एकल बीमाशुल्क संचालनमा रहेकाले तत्काल यसलाई रोक्न नमिल्ने बताए । उनले एकल बीमाशुल्कका कारण बीमा क्षेत्र लामो समयदेखि प्रभावित भएको कुरा सत्य भए पनि केही बीमा कम्पनीहरुका कारण एकल बीमाशुल्क नै बदनाम भएको बताए । त्यस्ता बदनामी रोक्न कम्पनीले गडबडी गर्न नहुने सिलवालको सुझाव छ ।

तर एक जीवन बीमा कम्पनीका सीईओले पहिलदेखि नै एकल बमिाशुल्कमा समस्या रहेको बताए । उनले भने, ‘एकल बीमाशुल्क धेरै पहिले देखिको समस्या हो । पहिलेदेखिको समस्या मात्र नभई यो आफैमा धेरै ठूलो समस्या पनि हो । यसमा बीमा कम्पनीहरु आकर्षित हुनुमा अन्य बीमामा प्रतिफल पाउन लामो समयसम्म प्रतिक्षा गर्नुपर्छ । तर, एकल बीमाशुल्कमा लामो समय पर्खिनु पर्दैन ।’

उनले एकैपटक लामो समयको प्रतिफल पाइने भएकाले अधिकांश कम्पनीहरु उक्त बीमामा छुकिछिपि भए पनि संलग्न हुने बताए । 

कालो धनलाई सेतो बनाइएको समितिको दावी
बीमा समितिले एकल बीमाशुल्कको बाटो अपनाएर कालो धनलाई सेतो बनाउने गरेको आफूहरुले पनि सुन्ने गरेको बताएको छ । व्यवसाय गुम्ने डरमा बीमा कम्पनीहरु आफैले एकल बीमाशुल्क नहटाउन माग गर्ने र फेरि आफैले यसमा खराबी रहेको बताउने गरेको समितिका अधिकारीहरुको दावी छ । 

प्राइम लाइफ इन्स्योरेन्सका एक उच्च कर्मचारीले कर्पोरेट नेपालसँग भने, ‘तपाईंहरुलाई थाहै छ एक आर्थिक वर्षमा मात्रै हेर्दा प्रत्येक महिनामा जति पैसा बीमा क्षेत्रमा आउँछ, त्यसको कयौं गुना बढी पैसा अन्तिम महिना असारमा मात्रै आउने गर्छ । त्यति धेरै पैसा कहाँबाट र किन आउँछ बीमामा ? यो कसैले सोधखोज नै गरेको छैन् । यो त कहाँ कहाँबाट आएका पैसालाई बीमाबाट आएको हो भन्ने बनाउने अवसर जस्तोे देखिन्छ ।’

त्यस्तै, लामो समयदेखि सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजकुमार अर्यालले पनि एकल बीमाशुल्कले जोखिम निम्त्याउने भएकाले निकै ठूलो खोजी गर्न आवश्यक रहेको बताउँदै आएका छन् । सीईओ अर्यालले बीमाका हरेक सूचक पारदर्शी हुने भएकाले यस्ता शंकास्पद रुपमा आउँने पैसाहरुका बारेमा सबैले खोजी गर्न र सचेत रहन जरुरी रहेको धारणा दिँदै आएका छन् । 

विदेशी लगानीको एक कम्पनीका सीईओले एकल बीमाशुल्कले निरन्तरता पाएमा केही वर्ष भित्रमा बीमा कम्पनी संचालन गर्न नै समस्या हुने प्रतिक्रिया दिए । 

Advertisement

Advertisement