देउवाले नाष्टको कार्यक्रममा भने– मलाई पनि मोतीविन्दु भएको थियो

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पहिला मोतीविन्दु भएको खुलासा गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को कार्यक्रममा आइतबार बोल्दै उनले आफूलाई मोतीविन्दु भएको स्मरण गरे । 

नाष्टका कुलपतिसमेत रहेका देउवाले प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले देशमा निकै ठूलो योगदान गरेको चर्चा गर्दै तारिफ पनि गरे । उनले  आर्थिक समस्यालाई सघाउन विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा थप अध्ययन गरिने बताए । 

Advertisement

विज्ञान प्रविधिको माध्यमले जलवायु परिवर्तन र वातावरणमा देखिएका समस्याहरुसँग जुध्न पनि सघाउ पुग्ने देउवाको आशा छ । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा रुइतले नेपालमै मोतीविन्दूका बिरामीहरुको निम्ति आँखामा लगाउने चस्मा उत्पादन गरेर दुई सय डलरभन्दा बढी पर्ने चस्मा चार डलरमा उपलब्ध गराएको स्मरण गरे । उनले मोतीविन्दूका बिरामीहरुको निम्ति नेपालमै उच्चस्तरीय चस्मा उत्पादन गरेर ८० देशका ६० लाख मानिसलाई वितरण गरिसकेको जानकारी पनि दिए । 

डा.रुइतले भने, ‘हामीले आधुनिक प्रविधि प्रयोग गरेर सस्तो मूल्यमा उच्चस्तरीय ग्लासहरु उत्पादन गर्यौ र भियतनाम, चीन, भुटान, थाइल्याण्ड,, म्यानमार तथा इथियोपियालगायतका देशहरुलाई उपलब्ध गरायौं ।’ युवा वैज्ञानिकहरुलाई सफलताको सूत्र बताउँदै उनले कुनै कार्य गर्दा त्यसको उद्देश्य स्पष्ट हुनुपर्ने, लगनशीलताका साथ काममा निरन्तर लाग्नुपर्ने बताए । 

नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले नाष्टले आफ्नो स्थापनाकालदेखि नै विभिन्न खोज, अनुसन्धान तथा अध्ययनहरुका साथै रचनात्मक कार्यहरु गर्दै आएको बताए । उनले सम्मेलनमा विज्ञहरुबीच छलफल गरेर समाज तथा देशका निम्ति उपयोगी निष्कर्ष तथा सुझावहरु निकाल्ने बताए । 

नास्टले प्रत्येक चार–चार वर्षमा गर्ने गरेको राष्ट्रियस्तरको वैज्ञानिक सम्मेलन यस वर्ष आजबाट सुरु भएको हो । सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा नेपालबाहेक अरु नौ मुलुक (भारत, पाकिस्तान, जापान, बेलायत, अमेरिका, चीन, जर्मनी, अष्ट्रेलिया)का करिव पाँचसय वैज्ञानिकहरुको उपस्थिति रहेको जनाइएको छ । सम्मेलनमा १५ वटा विभिन्न विधा र २० वटा विषयमा ३८० वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने छ । 
 

Advertisement

Advertisement