झलनाथ खनालको दबाबमा वायुसेवा निगममा गलत मान्छेलाई नियुक्ति गर्नुपरेको आलेको खुलासा

Advertisement

काठमाडौं । राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नै पार्टीका नेताको दबाबले नराम्रा मान्छेलाई पनि सार्वजनिक निकायमा नियुक्ति दिनु परेको खुलासा गरेका छन् । 

राजीनामापछि आइतबार पत्रकार सम्मेलनमा उनले त्यस्तो खुलासा गरेका हुन् । आलेले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिलाई औंल्याएका हुन् । निगमका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाइएको थियो । अधिकारीसँग भनाभन भएपछि उनले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उनलाई निलम्बन गरिदिएका थिए । नियुक्तिवापत अधिकारीले खनाललाई ७० लाख रुपियाँ बुझाएको समेत हल्ला चलेको थियो । 

Advertisement

आलेले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्वीकार गर्दै भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’ अधिकारीलाई हटाउन लागेको चाल पाएपछि खनाल आलेदेखि रुष्ट हुँदै आएका थिए । उनले पूराना मन्त्रीलाई हटाएर नयाँलाई बनाउन ढिलाई गरेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्दै आएका थिए । 

Advertisement

Advertisement