हरि बुढामगरले कृत्रिम खुट्टाले नै चढे मोरोक्कोको अग्लो हिमाल

Advertisement

काठमाडौं । पूर्वगोरखा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको सहारामा उत्तर अफ्रिकाको मोरक्कोको सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४,१६७ मिटर)को सफलतापूर्वक आरोहण गरेका छन् ।

उनीसहित जेम्स रोजले ‘ब्लेस्मा’ नामक परोपकारी संस्थाको लागि सहयोग जुटाउन बुधबार उक्त हिमाल आरोहण गरेका हुन् । ‘ब्लेस्मा’ एक सैन्य परोपकारी संस्था हो जसले आफ्नो हात वा दृष्टि गुमाउने घाइते सैनिक र वेटेरानहरुको हेरचाह गर्नेबारे बुढामगरले बताए ।

Advertisement

उनीहरु दुवै जना लडाइँमा दुवै खूट्टा गुमाएका पूर्व वेलायती सेना हुन्। बुढामगरले भने, ‘यो यात्रा कठिन, चुनौतीपूर्ण र हरेक कदम संघर्षमय थियो। तर, हामीले पूरा गरेर छाड्यौं । असम्भव केही पनि छैन् ।’

यसअघि उनले सगरमाथा आधार शिविर पुगी कीर्तिमान कायम गरेका थिए । अफगानिस्तानको लडाइँमा दुवै घुँडाभन्दा माथि खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि गरेका थिए । 

उनले हेलिकप्टरबाट स्काइड्राइभिङ गरेका थिए । त्यस्तै बुढामगरले पाराग्लाईडिङसहित कुश्मास्थित विश्वको दोस्रो अग्लो वन्जिजम्प र विश्कै अग्लो स्विङ समेत गरेका थिए ।

साथै, उनले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूर पूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन। बुढामगरले २०१७ मा मेरा चुचुरो आरोहण गरी छ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथिको डबल एम्प्यूटी गर्ने व्यक्ति बनेका थिए । 

Advertisement

Advertisement