विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि क्यानडा जाने नेपाली टोलीको बिदाइ

Advertisement

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई सोमबार बिदाइ गरे । 

नेपालले क्यानडासँग दुईवटा एकदिवसीय क्रिकेट खेल्नेछ भने क्यानडाको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने कार्यक्रम तय भएका छ । क्यानडा भ्रमण सकिएलगत्तै नेपाली टोली त्यहीँबाट स्कटल्यान्ड जानेछ । 

Advertisement

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचाँै स्थानमा छ । 

नेपालले यसअघि खेलेको १६ खेलमा सात खेलमा जीत, आठ खेलमा हार र एक खेल बराबरीसहित १५ अङ्क जोडेको छ । स्कटल्यान्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेको स्कटल्यान्ड २८ अङ्कका साथ दोस्रो स्थानमा छ । १४ खेल खेलेको नामिविया अङ्क तालिकाको छैटौँ स्थानमा छ । नामिवियाले सात खेलमा जीत तथा सात खेलमा हार बेहोरेको छ ।  

बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लिग दुईअन्तर्गत स्कटल्यान्डसँगको खेल चुनौतीपूर्ण रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिए ।  त्यस्तै कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्यान्डको जस्तै हुने भएकाले यस भ्रमणले लिग–२ का लागि उपयोगी हुने बताए । उनले क्यानडामा टिम बलियो बनाएर स्कटल्यान्ड जानेसमेत उल्लेख गरे । 

क्यानले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी छन् । नेपाली टोली मंगलबार बिहान २ बजे क्यानडा जाँदैछ ।

Advertisement

Advertisement