मर्जरपछि बीमा क्षेत्रले ठूलो सिनर्जी प्राप्त गर्छः सीईओ, प्रभु लाईफ

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले मर्जरले बीमा क्षेत्रमा नयाँ सिनर्जी प्राप्त हुने बताएका छन् । 

बीमा समितिले पुँजी वढाउन निर्देशन दिएसँगै मर्जर सम्झौता हुन थालेको बेला प्रसाईंले कर्पोरेट नेपालसँगको कुराकानीमा यसले नयाँ सिनर्जी ल्याउने बताएका हुन् । प्रभु लाइफसँग महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज हुने बजार हल्ला चले पनि त्यस विषयमा उनले धेरै कुरा खोल्न चाहेनन् । 

Advertisement

समितिले हिजोको आज नै मर्जरमा जाउ भनेको होइन भन्दै उनले भने, ‘हामीले अन्य बैंक वित्तिय संस्थाहरुमा हेर्ने हो भने ती संस्थाहरु पनि आवश्यकता अनुसार र नियामकीय नीतिअनुसार मर्जरमा गएको पाउन सक्छौं । त्यसैले बीमा क्षेत्र पनि अहिले मर्जरमय बन्दै गएको हामी सबैले देखेका छौं ।’ 

बीमा कम्पनीहरुलाई मर्जरमा जानको लागि क्रसहोल्डिङस् भएका कम्पनीहरु छन् भने त्यस्ता कम्पनीहरु मर्जरमा जानु स्वभाविक नै देखिने प्रसाईंले बताए । उनले भने, ‘यसको मतलब एउटै लगानीकर्ताबाट संचालित दुई वा तीन कम्पनीहरु छन् भने ती कम्पनीहरु मर्जरमा जानु स्वभाविक देखिन्छ । मर्जरकै कुरा गर्दा एक्वाएर गरेको मर्जर पनि दिगो हुनेगर्छ ।’ एक्वायर भन्नाले कुनै एउटा ठूलो कम्पनीले अर्को केही कमजोर कम्पनीलाई आफूसँग गाभ्ने, गाभिने प्रक्रियालाई बुझिन्छ । 

एउटै रेसमा दौडिरहेका कम्पनीहरुबीच मर्जर हुँदा भोलि यसको हरेक कुराहरु समान हुने भएकाले ठूला र महत्वपूर्ण निर्णय लिने बेलामा केही समस्या देखिन सक्छ भन्दै सीईओ प्रसाईंले यसको मतलब उस्तै कम्पनी मर्जरमा गएमा अवश्य टकराव देखिन्छ भन्न आफूले नखोजेको बताए । 

उनले थपे, ‘हरेक कुरामा उस्तै स्तरमा रहेका कम्पनीहरु मर्जरमा जाँदा दुवैले समान अवसर पाउने चाहना राख्ने र त्यस्तो सम्भव नहुनसक्छ भन्ने हो । तर, बीमा समितिले पनि मर्जरलाई प्राथकिमता दिएको अवस्था छ भने बीमा कम्पनीहरु पनि सोही अनुसार मर्जरमा जान अन्तिम तयारी गरिरहेका छन् । यस्तो अवस्थामा मर्जर राम्रो नराम्रो भनेर मैले धेरै भन्न आवश्यक छैन ।’ 

हरेक कुराको सबल दुर्बल पक्ष भए जस्तै मर्जरबाट आउनसक्ने केही असहजता छन् भने त्यसको पनि तयारी चाहीं गर्नैपर्ने प्रसाईंको भनाई छ । कम्पनीहरु मर्ज हुँदै गर्दा मिलाउनुपर्ने कुराहरु धेरै होलान् भन्दै उनले पूर्णरुपमा मर्ज भएर कम्पनी संचालन हुँदा पनि त्यहाँ संभावना र चुनौतीका कुराहरु जोडिदै जाने बताए । 

प्रसाईले भने, ‘कर्मचारी अब्बल हुने बीमा क्षेत्रमा मर्जर भएपछि स्थापना हुने नयाँ कम्पनीमा आउने कर्मचारीहरु पनि अब्बल हुन्छन् । यसको मतलब अहिले रहेका कर्मचारीमध्येबाट पनि राम्रा कर्मचारीहरुले मात्र काम गर्न पाउँछन् । यसबाट पनि कर्मचारीहरुको दक्षता बढ्ने अनुमान गर्न सकिन्छ ।’ 

यसबाट कम्पनीको क्षमता पनि अभिवृद्धि हुने उनले बताए ।त्यसरी मर्जरबाट बनेको बलियो कम्पनीलाई नियन्त्रण गर्ने दुई कम्पनीमध्येको पनि अब्बल सीईओ आउँदा त्यसले कम्पनीलाई हित गर्छ भन्दै प्रसाईंले यस्ता धेरै कारणले गर्दा अहिले बीमा क्षेत्रमा मर्जर आवश्यक बनेको बताए । मर्जरमा कुनै अप्ठ्यारो भए समितिले साथ दिनुपर्ने उनको जोड थियो । 

Advertisement

Advertisement