झिनो बहुमतमा टिकेका गण्डकीका मुख्यमन्त्रीको एमालेले माग्यो राजीनामा

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै एमालेले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो । 

बुधवार नेकपा एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता एवम पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदलाई निकास दिननसक्ने मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण संसदमा प्रश्तुत बजेटको छलफललाई रोकेर संसदलाई अनिर्णयको बन्दी बनाउन नपाइने बताए । 

Advertisement

गुरुङले संसदीय प्रक्रियाअनुसार मुख्यमन्त्री र अर्थ मन्त्रीबीचको विवादको निकासका लागि मुख्यमन्त्रीको राजीनामा आउनुपर्ने र मुख्यमन्त्रीले राजीनामा नदिने हो भने अर्थमन्त्रीले भएपनि राजीनामा दिएर संसदमा बजेट छलफल हुने वातावरण बनाउनुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सरकारका मन्त्रीहरुले नै आपत्ति जनाएको बताए । 

पूर्वमुख्यमन्त्री समेत रहेका नेता गुरुङले बजेट पास हुन नसक्ने स्थिति भए सरकारको विकल्प सोच्नुपर्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सरकारका मन्त्री संसदमा नआउँदा समेत मुख्यमन्त्रीले मन्त्रीहरुलाई कारबाही गर्न नसकेको बताए । 

नेकपा एमालेले मन्त्रिपरिषद्ले पास गरेर संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारका मन्त्रीहरु उपस्थित नहुनुको कारण पनि माग गरेको छ । पूर्वमुख्यमन्त्री गुरुङले सत्ता गठबन्धन पार्टीहरुको विवाद, अर्थमन्त्री र मुख्यमन्त्रीबीचको विवाद र नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच विवादको कारणले बजेट छलफल रोक्न नमिल्ने बताए । 

उनले बजेटमाथिको छलफल प्रारम्भ गर्नुको सट्टा आ.व. २०७९–८० को बजेटको छलफल अर्थ तथा विकास समितिको बैठकमा गर्न खोजेर सरकार विधिको शासन र संसदीय मर्यादाविपरीत अघि बढ्न खोजेको टिप्पणी गरे । उनले बजेट संसदमा पारित नगरी अर्थ विकास समितिमा छलफल गर्ने अख्तियारी अर्थ विकास समितिसँग नहुने भन्दै बजेटमा छलफल गर्नेगरी अर्थ विकास समितिको बैठक बोलाउने औचित्य समेत नरहेको बताए । 

गत असार १ गते संसदमा प्रस्तुत गरेको बजेट माथिको छलफल गर्नु पर्नेमा सत्ता गठबन्धन दलहरु बजेटको भागबण्डामा अल्झिँदा अहिलेसम्म संसद बैठक समेत बस्न सकेको छैन । आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएको भन्दै सत्ता गठबन्धनबीच विवाद उत्पन्न भएको थियो । 

गत असार ५ का लागि बोलाइएको संसद बैठक सूचना टाँस गरेर अनिश्चितकाल लागि स्थगित छ । असार १ मा गण्डकीले ३६ अर्ब ९० करोड ९० लाख बराबरको बजेट प्रश्तुत गरेको थियो । उक्त प्रदेशमा मुख्यमन्त्री नेपाली झिनो बहुमतले टिकेका छन् । 

Advertisement

Advertisement