सन्दर्भ धान दिवसः बीऊको माला लगाउने, गमलामा धान रोप्ने, किसान रुवाउने !

Advertisement

दिवाकर पन्त
एक दशक यता असार १५ लाई ‘राष्ट्रिय धान दिवस’का रुपमा मनाउने गरिन थालिएको छ । त्यसअघि नेपालमा असार महिनाभर दहि खाने र विशेष गरी असार १५ मा दही च्युरा खाने प्रचलन पुरानै हो । सदियौँदेखि असार १५ का दिन मेलामा खेतका आलीमा बसि दहि च्युराको खाजा खाने तथा असारे गीत गाउने गरिन्थ्यो । सुनिन्थ्यो, यसदिन राजारानीले पनि हिलो टेक्छन अरे । 

पछिल्ला बर्षहरुमा यसदिन शहरमा दहि च्युरा खाने त गर्छन नै, यसका अलावा केही थान औपचारिक कार्यक्रम पनि हुन्छन् । जसमा विशेष गरी गमलामा धान रोप्नेदेखि धानको बीऊको माला लगाउनेसम्मका काम हुन्छन् । सरकारी निकायबाट काठमाडौँ उपत्यकाका भित्र कुनै ठाउँमा वरीपरी घरहरु बनेको तर बीचमा केही गह्राहरु खालि भएको ठाउँमा एउटा औपचारिक कार्यक्रम पनि हुन्छ । उक्त कार्यक्रममा देशका प्राय सबै टेलिभिजन र संचारमाध्यमका दर्जनौँ पत्रकार पुग्छन्, प्रमुख अतिथिले भन्ने देशलाई धानमा आत्मनिर्भर बनाउने र समयमा किसानलाई मल बाड्ने मन्तब्यलाई ब्यानर समाचार बनाउँछन् । असार १५ को धान दिवसको मुख्य आकर्षण बर्षेनी यही रितबाट हुने गरेको छ ।

Advertisement

‘असार १५’ एक औपचारिकतामा सीमित
भन्न त नेपाललाई कृषि प्रधान देश भनिँदै आइएको छ । कागज र नीति निर्माणका लेखाईहरुमा यसो भनिए पनि व्यावहारमा नेपाल कृषि प्रधान मुलुक हाल होइन् । आफ्नै देशभित्र खपत हुने कुनै पनि कृषि उपजमा देश आत्मनिर्भर छैन् । विशेषगरी आमनेपालीले आफ्नो भोजनमा समावेश गर्ने ‘भात’ बनाउन प्रयोग हुने चामल आयातको तथ्यांकले यो पुष्टि गर्दछ । आर्थिक बर्ष २०७३–७४ मा १८ अर्ब ५९ करोड रुपियाँ बराबरको चामल आयात भएको देखिन्छ । त्यसैगरी उक्त आँकडा बढेर आ.ब. २०७७–७८ मा आइपुग्दा करिव ५० अर्ब पुगेको देखिन्छ । यदि धान दिवसको सार्थकता भएको भए क्रमशः पछिल्ला आर्थिक बर्षहरुमा आन्तरिक धान उत्पादनमा बृद्धि हुनु पर्ने र आयातमा कमि आउनु पर्ने हो । 

धान दिवसलाई कुनै औपचारिक कार्यक्रम भन्दा अर्काे भन्न मिल्ने अवस्था छैन् । एउटा औपचारिक कार्यक्रम गर्ने, दुई चार जना भीआइपीहरु जम्मा हुने, गलामा धानको बीऊको माला लगाउने, गमलामा धान रोप्ने, भाषणबाजी गर्ने र हिलो छ्यापाछ्याप गर्ने बाहेक कुनै किसानीका ठोस कुरा भएको देखिँदैन् । 

किसानका अनगिन्ती दुःख
जुन पेशाले अन्य हरेक पेशाका मानिसहरुलाई जीवित राख्छन् त्यो पेशा हो किसानी । तर किसान हुनु आज नेपालको सन्दर्भमा पिडा नै पिडाको भारी बोकेर हिड्ने पेशाका रुपमा दरिन बाध्य भएको छ । उत्पादन लागत भन्दा कम मूल्यमा उत्पादित सामग्री बेच्नु पर्ने, किसानले पाउने मूल्य भन्दा विचौलियाले बढि नाफा कमाउने, उत्पादित सामग्री बिक्रि हुने कुनै टुंगो नहुनु, समयमा प्राविधिक सरसहयोग नपाउनु आदी जस्ता आमकिसानका पीडा हुन् । 

ऊखु किसानले पटक पटकको संघर्षपछि पनि बक्यौता रकम नपाएर आत्महत्या गर्ने तहसम्म पुगेका छन् । अलैँची किसानले कुनै बर्ष राम्रै मूल्य पाउँछन् भने कुनै बर्ष उत्पादित अलैँची कुहिने अवस्थामा पुग्छन् । अदुवा किसान, दुग्ध उत्पादित किसानको कथा व्यथा पनि उस्तै छ । धान उत्पादनको मुख्य सिजन असोज, कात्र्तिक तथा मंसिरसम्म पनि धानको न्युनतम मूल्य तोक्न र तोकिएको मूल्यमा समयमा खरिद गर्ने प्रणाली लागू हुँदैन् । तरकारी किसानको हालत पनि उस्तै देखिन्छ । पहाडका गाउँघरमा उत्पादित खसीबोका बिक्रि नभएर किसानहरु कौडिको भाउमा विचौलियालाई आफ्ना उत्पादित सामान मुटुमाथि ढुंगा राखि बेच्न बाध्य छन् । 

कोही चाहँदैन छोराछोरी किसान बनून
अझैसम्म पनि देशका मुख्य–मुख्य तहमा पुग्ने अधिकांशको पारीवारिक पृष्ठभूमि किसानी नै रहेको देखिन्छ । तर किसानी पृष्ठभूमिकै व्यक्तिहरुको कलम किसानलाई न्यायोचित बनाउने दिशामा कहिल्यै केन्द्रीत हुन सकेन् । नीति निर्माण तह तथा नेतृत्वमा पुगेका किसानका छोराछोरीले किसानीलाई सम्मानजनक बनाउन किन काम गरेका छैनन् ? 

हालको समाजमा कोही पनि अभिभावकले आफ्ना छोराछोरीलाई किसान बन्ने सपना कहिल्यै देखाउँदैनन् । कोही चाहँदैन कि आफ्ना छोराछोरीले भविष्यमा किसान बन्छु भनोस् । यसबारेमा मेरो एउटा स्मरण संक्षिप्त साझा गरुँः

पाँच बर्षअघि म कैलाश–मानसरोवर यात्रामा थिए । म गएको एजेन्सीले विदेशीलाई मात्र चलाउने भए पनि एक मात्र नेपाली मलाई पनि उहाँहरुले कर्टेसी गेष्टका रुपमा लैजानु भएको थियो । यात्रा समापन गरि फर्कने क्रममा तिब्बतको सिगात्से आइपुगेपछि यात्रामा मुख्य भुमिका निर्वाह गर्ने एजेन्सीका गाइड एवं भरियासहितको टिमलाई प्रोत्साहन यानेकी टिप्स दिने कुरा भयो । एजेन्सीको तर्फबाट सामान्यतया न्युनतम यति दिने व्यावहारिक चलन छ, यो गेष्ट र स्टाफ सबैका लागि न्यायोचित रहन्छ भनियो । बढिमा दिने यहाँहरुको चाहना हो भनियो । यसो भने लगत्तै अमेरिकाबाट आएका एक जोडि यात्रुले भनिएको भन्दा ठिक दोब्बर भन्दा पनि बढि हामी दिन चाहन्छौँ भने । उनीसँगै आएका र उनीहरुलाई चिन्ने आफन्तहरुले एक प्रकारले मुखामुख पनि गरे । यसबारे मैले पछि अरुसँग अप्रत्यक्ष चसो राख्दा ती अरु अमेरिकनले उनीहरु बारे भने– उनी त किसान हुन् । उनको ठूला ठूला फर्महरु छन् । हामीभन्दा धेरै पैसा कमाउँछन् । उनीलाई यति डिप्स दिनु कुनै ठूलो कुरा होइन भने । उनीहरुले त्यसो भनिरहँदा किसानी पेशा र किसान प्रतिको सम्मान तथा आदर आँखा र अनुहारमा प्रष्ट देखिन्थो ।

नेपालका किसानको अवस्था यस्तो सम्मानजनक बन्ने दिशामा थोरै भए पनि केन्द्रीत छ ? असारे १५ मा मनाइने धान दिवस यसबारेमा गम्भीर छ ? सिधै भन्न सकिन्छ छैन् । 

अनौठा–अनौठा धान दिवस
२०७२ को धान दिवसका बेला कृषि मन्त्री थिए हरिप्रसाद पराजुली । तालिकाबद्ध नियम भएकाले त्यसबर्ष पनि धान दिवस मनाइयो, सरकारीतहबाट कार्यक्रमको आयोजना भयो । उनै कृषिमन्त्री पराजुली प्रमुख अतिथि बनेर पुगे कार्यक्रममा । कृषि विभागले काठमाडौँको मुलपानीमा आयोजना गरेको कार्यक्रममा सहभागी एक महिलालाई उनै प्रमुख अतिथिले अभद्र दुव्र्यवहार गरेको फोटो, दृश्य भाइरल भयो । अन्तत उनले राजिनामा नै दिनु पर्यो । अनौपचारिक रुपमा त्यसबेला भनिएको थियो, प्रमुख अतिथि कृषिमन्त्री पराजुली रक्सीको मातमा कार्यक्रममा पुगेका थिए । धानको बीऊको माला लगाइएका मन्त्री, धान दिवसमा सहभागी हुने कुरा न त किसानको अवस्था सुधार्ने प्रति गम्भीर थियो, न त त्यस्ता कार्यक्रम नै गम्भीर थिए ।

त्यसको अर्काे बर्ष अर्थात २०७३ सालमा पुनः असार १५ आयो, धान दिवस मनाउनै पर्यो । कार्यक्रम आयोजना भयो ः नेपाल कृषि अनुसन्धान परिषद (नार्क) काठमाडौँमा । कृषि मन्त्री हरिबोल गजुरेल दौरासुरुवालमा सजिएर पुगेँ अनि रोपे गमलामा धान । प्रमुख अतिथिका रुपमा कृषि क्षेत्र सुधार्ने योजनादेखि किसानको जीवनस्तर सुधार्नेसम्मका योजना सुनाए ।

मल अभावको श्रृखंला
ज्येष्ठ महिना लागेसँगै सबै भन्दा प्रमुख समाचार बनेर आउँछ मल अभाव । नेपालमा करिव २५–३० बर्षअघिसम्म यसरी रसायनीक मल प्रयोग हुने अवस्था थिएन । गोवर मल र प्राङ्गारिक मल प्रयोग गरि कृषि कार्य हुन्थे । जसले गर्दा उत्पादित धान र त्यसबाट बनाइने चामल सतप्रतिशत अर्गानिक र स्वस्थ थिए । तर पछिल्ला दशकहरुमा मल भनेकै रसायनीक मल मात्र हो भन्ने अवस्था सिर्जना हुन पुगेको छ । 

परम्परागत रुपमा गाईवस्तुको गोवर मल तथा प्राङ्गारिक मलको समुचित प्रयोगसहित रसायनीक मलको पनि प्रयोग सन्तुलित हुनु पर्ने थियो । तर त्यसो हुन सकेन । किसानहरुलाई रसायनीक मल व्यापक रुपमा प्रयोग गर्न प्रोत्साहन गर्ने कृषि योजना अघि सारियो । जसले गर्दा एकातिर माटोको जैविकता बिग्रियो भने अर्काेतर्फ विदेशबाट आयात हुने मलको आपूर्तिमा लापर्वाही पनि गरियो । यसले गर्दा मानो रोपेर मुरी फलाउने बेलामा हरेक बर्ष मल अभावको चक्र हालसम्म दोहोरिरहेको छ ।

हिले पर्यटनको सम्भावना
धान दिवसले देशको कृषि क्षेत्र र किसानको जीवनस्तरलाई सुधार्ने कुनै लक्षण नदेखाए पनि खेतका गह्राहरुमा हुने धान रोपाई प्रति विदेशी नागरिकहरु भने आकर्षित हुन थालेका छन् । देशकै मुख्य पर्यटकीय नगरी मध्येको एक कास्कीको पोखरा आसपास पर्यटकलाई लक्षित गरि असार १५ का दिन कार्यक्रम हुने गरेको छ । जसमा हरेक बर्ष सहभागी हुने पर्यटकको संख्या बढ्दो छ । 

हिलोमा सहभागी हुने पर्यटकहरुको हाँसोले स्पष्ट पार्दछ कि उनीहरु जीवनमै खुशी भएको दिन मध्येमा यो पनि एक हो । यस्ता कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाई अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमार्फत संसारभर फैलाउन सके धान दिवसको सेरोफेरो अर्थात असार महिनामा पर्यटकलाई नेपालमा तान्न सकिन्छ । तर त्यसका लागि कार्यक्रम आयोजना हुने स्थानको माटोको अर्गानिकपना, स्वस्थता तथा पानीको पनि स्वस्थता कायम हुनै पर्दछ । साथै कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाई देशको मौलिकतामा आधारित बनाउन सके यो पर्यटन जगतको एउटा महत्वपूर्ण ‘इभेण्ट’ बन्न सक्ने देखिन्छ ।

(लेखक पन्त युवा ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् तथा पूर्वीयदर्शनका व्याख्याता पनि हुन् । सम्पर्क ९८१३६३७२३८)

Advertisement

Advertisement