कृषिमन्त्री यादवको तर्क– अन्तर्राष्ट्रिय बजारमा मल भाउ बढेकाले ठेकेदारले ल्याउनै सकेनन्

Advertisement

ललितपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन् ।

बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव’मा उनले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताए ।

Advertisement

यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरु नआउने समस्या भएको बताए । उनले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने ? भन्नेमा छलफल भइरहेको बताए ।

यादवले पूरानो ऐन, कानूनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि बताए । उनले मलको मूल्य पनि स्वचालित मूल्यमा निर्धारण हुनुपर्ने बताए । यादवले भने, ‘युरिया मल ल्याउनका लागि हामीसँग अहिले जुन प्रकारको अवस्था छ, यसको मुख्य कारण के हो भने अहिले जुन प्रकारको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छ र त्यो मूल्यवृद्धि गर्दाखेरी यस मन्त्रालयबाट मंसिर, फागुन महिनामा दुई लाख मेट्रिक टन ठेक्का ठेकेदारले लिइसकेको, मूल्यवृद्धि हुँदाखेरी दुई लाख मेट्रिक टन ल्याउनसक्ने अवस्था रहेन र त्यो ठेक्का रद्द गर्नुपर्ने भयो । आपूर्ति व्यवस्था त्यहाँ कम भयो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा यति मूल्यवृद्धि भयो, सरकारले ठेक्का लगाउँदा ठेक्काहरु ठेकेदारले नलिने, लिएको ठेकेदारहरु पनि नआउने । भारत सरकारसँग फेब्रुअरिमा जि टू जि भयो । आजसम्म १५ हजार मेट्रिक टन कुरा गरेको छ । जबकी डेढलाख मेट्रिक टन प्रति वर्षमा दिने कुरा गरेको छ । मलखादको लागि साल्ट ट्रेडिङले २२ हजार मेट्रिक टन अहिले हाम्रो प्रक्रियामा छ । करिब १ लाख २० हजार बोरा आइसकेको छ । जम्मा ३२ मेट्रिक टन आइसकेको छ । डिएपीको समस्या छैन डिएपी अहिले पनि आइरहेको छ । कृषि सामग्रीले ३० हजार मेट्रिक टन ल्याउने प्रक्रियामा छ । ’

Advertisement

Advertisement