एमालेलाई एक्ल्याउने खेल भइरहेको भन्दै नेम्वाङले जनाए असन्तुष्टि, सहमतीय राजनीति धरापमा

Advertisement

काठमाडौंः एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार संसदमा बोल्दै सत्तारुढ दलहरुले एमालेलाई एक्लाउन लागिपरेको बताएका छन् । उनले प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर काम गर्नुपर्ने सरकारले उल्टै एक्ल्याउने काममा लागेको भन्दै असन्तष्टि जनाए ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिँदै नेम्वाङले विभिन्न बहाना र आरोपमा एमालेलाई एक्लाउने प्रयास भइरहेको भन्दै यसले राम्रो नगर्ने बताए । संविधान कार्यान्वयन, संविधानको सर्वस्वीकार्यताको नाममा प्रतिपक्षीलाई कुना पार्ने काम भएको उनको भनाई थियो ।

नेम्वाङले संविधान कार्यान्वयनका लागि विधेयकहरु निर्माण गर्दा होस्, संविधान संशोधन प्रस्ताव तयार पार्दा वा निर्वाचन मिति सार्दासमेत प्रतिपक्षीसँग छलफल गरिएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘सरकारकै अंग मानिने प्रतिपक्षीलाई समझदारी वा विश्वासमा राख्ने काम यसअघिका सरकारले गरेन, अबको सरकारले गरोस् ।’ संविधान स्वीकार्यता हिजो संविधान जारी गर्दा एक ठाउँमा रहेका दलहरु विभाजित भएर हुन नसक्ने नेम्वाङको भनाई छ ।

संविधान बनाउने दलहरु एक ठाउँमा बसेर असन्तुष्टलाई मनाउने काम गर्नुपर्छ भन्दै उनले अनिमात्र संविधान सर्वस्वीकार्यता बढ्छ भने । राजपा निर्वाचनमा सहभागी हुने भन्दै विपक्षीको सहमतिबिना सरकारले निर्वाचन सारेको नेम्वाङको गुनासो थियो ।

न राजपा चुनावमा आउने भयो, न सरकारले प्रतिपक्षीलाई विश्वासमा राख्न सक्यो भन्दै नेम्वाङले यसमा अब एमालेलाई दोषी दिने ठाउँ नरहेको बताए । आफ्नो थैली दरो राख्नु अरुलाई दोष नदिनु भन्ने उखान निकाल्दै विगतमा एमालेले गर्न दिएन भन्नेहरुले राप्रपालाई विश्वासमा लिन कानुन बनाउँदा पनि किन उनीहरु चुनावमा आएन त ? भनी प्रश्न गरे ।

दलहरुबीचको एकता जरुरी रहेको भन्दै नेम्वाङले निरंकुशताविरुद्धको आन्दोलन गर्ने दलहरु संविधान कार्यान्वयन नहुँदासम्म एकजुट हुन्छौं भनेर गरेको प्रतिबद्धतातिर ख्लाल राख्न र लिक बाहिर पुगेको सहमतीय राजनीतिलाई सही बाटोमा ल्याउन आग्रह गरे ।

Advertisement

Advertisement