नागढुंगा–धुलिखेल मेट्रोरेलको डीपीआरको प्रस्ताव पेश गर्न समय थप

Advertisement

काठमाडौं । लगानी बोर्डले नागढुंगा–धुलिखेल मेट्रो रेल परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन प्रस्ताव पेश गर्ने समय १५ दिन थप गरेको छ ।

बोर्डले प्रारम्भिक प्रस्तावका आधारमा २३ वटामध्ये छ वटा विदेशी कम्पनीलाई डीपीआर तयार गर्न छनोट गरेकोमा उनीहरुमध्येबाट पनि थप तयारीका साथ प्रस्ताव पेश गर्न समय थप गरिएको हो ।

छ वटामध्येबाट उत्कृष्ट प्रस्ताव पेश गर्नेलाई डीपीआर निर्माणको जिम्मा दिइने छ । उनीहरुलाई असोजभित्रै प्रस्ताव पेश गर्न भनिए पनि थप तयारीका साथ प्रस्ताव पेश गर्न कात्तिक मसान्तसम्मको समय दिइएको बोर्डका प्रवक्ता उत्तम वाग्लेले जानकारी दिएका छन् ।

कुल ४५ किलोमिटर लामो यस मेट्रोरेलको डीपीआर तयार गर्न इच्छुक कम्पनीहरुलाई बोलपत्र आह्वान गरेअनुसार गत भदौ २८ गते प्रारम्भिक प्रस्ताव पेश गर्ने २३ मध्येबाट छ विदेशी कम्पनीको नाम छनोट गरेको थियो ।

छनोटमा पर्नेमा चीन, भारत, कोरिया, टर्की र जापानका परामर्शदाता कम्पनीहरु चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन, चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोई कम्पनी लिमिटेड, राइट्स इन्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेसन सिउल र युकसेल प्रोजे युकसलवारी टर्की छन्।

सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा निर्माणको तयारी गरिएको यस परियोजना मेट्रोरेल जमिन माथि र मुनि दुवै हुनसक्ने जनाइएको छ । नागढुंगा–धुलिखेल मेट्रोरेलको निर्माण लागत प्रतिकिमि पाँच अर्ब रुपियाँ हुने अनुमान गरिएको छ ।

प्रत्येक एक किलोमिटरको दुरीमा स्टेशन रहने तीब्र गतिको यो मेट्रो रेल निर्माण गर्न साढे पाँच खर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement