‘हिमालयन ट्राभल मार्ट’तेस्रो संस्करण सम्पन्न, चौंथो संस्करण आउँदो बर्ष जेठमा

Advertisement

काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजागर गर्दै ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आइतबार सम्पन्न भएको छ । मार्टको चौथो संस्करण आगामी वर्ष जेठ दोस्रो साता अर्थात् सन् २०२० जुन १२ देखि १५ सम्म आयोजना हुने आयोजक प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

यही जेठ २३ देखि २६ सम्म सोल्टी क्राउनप्लाजामा भएको मार्टमा विभिन्न ४३ देशका ७०० भन्दाबढीको सहभागिता थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाको सहयोग तथा सहकार्यमा पाटा नेपालले मार्टको आयोजना गरेको हो ।

मार्टको तेस्रो संस्करण सफलताका साथ सम्पन्न भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए । उनले मार्टमा अध्यात्म पर्यटनको खोजी, बिटुबीमा क्रेता र बिक्रेताबीचको व्यापार विस्तार, अन्तरदेशीय पर्यटन बजारका ज्ञान तथा अनुभव आदन तथा नयाँ पर्यटकीय सम्भावना उजागर गर्न पनि मार्ट सफल भएको बताए ।

सम्मेलनमा साहसिक पर्यटनको अवस्था, दिगो पर्यटन विकासका अवसर तथा चुनौतीलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले जानकारी दिए ।

मार्टको ‘साइड इभेन्ट’ का रूपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा ‘मिडिया कन्फ्रेन्स’ मा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया तथा ब्लर्गससहित १०० हाराहारी राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता थियो । ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरका बारेमा छलफल गरिएको थियो । सोही कार्यक्रमबीच नेपाल भ्रमण वर्ष सन् २०२० सम्बन्धी विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज वैद्यले अभियानअन्तर्गत गरिने विभिन्न कार्यक्रमको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति दिए ।

यसपटकको बिटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ बिक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएको पाटा नेपालले जनाएको छ ।

मार्टका अवसरमा पाटा नेपाल च्याप्टरले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासमा गरेका योगदानको कदर गर्दै उनलाई पाटा विशेष अवार्डद्वारा सम्मान गरिएको थियो । त्यस्तै विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो । ती दुवै अवार्ड प्रधानमन्त्री केपी ओलीले वितरण गरेका गिए ।

Advertisement

Advertisement

Advertisement