विप्लव नेतृत्वको नेकपा ‘माओवादी पथ’मा, प्रधानाध्यापकको अपहरण गरी हत्या

Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माआवादीले मोरङ मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको छ । मंगलबार बिहान हतियारसहित आएका विप्लवका कार्यकर्ताले उनलाई बर्खेटोलस्थित घरबाटै अपहरण गरेका थिए । 

हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन ०७५ देखि विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको छ । यसअघि विभिन्न ठाउँमा बम विस्फोटलगायत घटना गरेको भए पनि विप्लव माओवादीले व्यक्ति हत्या पहिलोपटक गरेको हो । मंगलबार साँझ मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएको छ । 

Advertisement

प्रधानाध्यापक श्रेष्ठलाई सुराकीको आरोप लगाइएको छ । सम्झाउन गएका कार्यकर्तालाई हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

बिहान ६ बजेतिर गोठबाट गाईबस्तु सार्दै गरिरहेका वेला हतियारसहित आएका चार–पाँचजना विप्लवका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरेका थिए । त्यसको आधा घन्टाभित्रै करिब एक किलोमिटर टाढा जंगलमा उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement