कोभिडका कारण अझै ४६ प्रतिशत उद्योग व्यवसाय खुल्न सकेनन्ः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउनपछि पनि ४६ प्रतिशत उद्योगहरु बन्द रहेको जनाएको छ । राष्ट्र बैंकले गरेको अध्ययनअनुसार गएको असारसम्म ६१ प्रतिशतभन्दा बढि उद्योगहरु सञ्चालनमा आउन नसकेकोमा अहिले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएको देखिएको छ । 

पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनमा भनिएको छ, ‘असारको सर्वेक्षणको तुलनामा उद्योग–व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।’ कोभिडपूर्वको तुलनामा गत असारमा २८ दशमलव ७७ प्रतिशत मात्र रहेको उत्पादन–कारोबार स्थिति अहिलेको सर्वेक्षण सम्पन्न हुँदासम्म ५० दशमलव ५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७ दशमलव ५० प्रतिशतबाट ८७ दशमलव ५१ प्रतिशत पुगेको छ ।

Advertisement

यद्यपि अझै पनि कोभिड र लकडाउनका कारण १२ प्रतिशतभन्दा बढिले रोजगारीमा फर्किन नसकेको र उत्पादनमा अपेक्षाकृत सुधार हुन नसकेको देखिन्छ । राष्ट्र बैंकले नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्डहरु खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरु क्रमिकरुपमा संचालनमा आउन थालेको जनाएको छ । पछिल्लो तुलनात्मक अध्ययन कात्तिक १३ देखि मंसिर २४ सम्म गरिएको हो । 

Advertisement

Advertisement