भागरथीको हत्या परिचित व्यक्तिबाटै भएको प्रहरीको अनुमान

Advertisement

काठमाडौँ । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ ।

घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रूपमा परिचालन गरिएको छ । सीआईबीबाट निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ।

Advertisement

भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ । भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ । सोधपुछको दायरामा नआएका तर शंकामा परेकामाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement