झा दम्पत्ति बेपत्ता प्रकरणः तीन सातासम्म सरकारले छानविन नगरेकोमा पीडितहरु आक्रोसित

Advertisement

काठमाडौं । महोत्तरीको पिपरा गाँउपालिका–५ का अपहरित दम्पत्ति मुसाफिर झा र गीतादेवी झाको अवस्था पत्ता लगाउन सरकार उदासिन भएको भन्दै ५० संघ संस्थाले आन्दोलनको चेतावनी दिएका छन् । 

उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेर र पत्रकार सम्मेलन गरेर उक्त दम्पत्तिको अवस्था पत्ता लगाउन माग गरेको हो । पीडित पक्षले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी) टोली गठन गरी घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् । त्यसो नगरिए चरणवद्ध आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी छ । 

Advertisement

झा दम्पत्ति सुतेको अवस्थामै बेपत्ता पारिएका थिए । उनीहरु सुतेको खाट, झुल र पलङ पनि फेला परेको छैन् । यसले महोत्तरीको पिपरामै खैलाबैला मच्चिएको छ । सोहडवा समाजका उपाध्यक्ष भरतप्रसाद साहले घट्ना भएको झण्डै एक महिना हुन लाग्दासमेत त्यसको छानविनमा सरकारले उदासिनता देखाएको असन्तुष्टि जनाए । उनले बेपत्ताको अवस्था थाहा नहुँदा परिवार र सिंगो समाज आतंकित भएको भन्दै यस घट्नाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे । 

मैथिल ब्राम्हण महासभा नेपाल तथा राष्ट्रिय इन्जिनियर्स संघका अध्यक्ष ई. भगवान झाले तीन दिनभित्र घटनाको निष्पक्ष छानविन गर्न सीआइबीको टोली गठन नगरिए चरणवद्ध आन्दोलनमा जाने बताए । पचास वटा संघसंस्थाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय घेराउदेखि कडा आन्दोलन गर्न बाध्य हुने उनको भनाई थियो । 

झाले महोत्तरीबाट पूर्वसरकारी कर्मचारी दम्पतिको अपहरण भएको २३ दिन पुग्दा पनि सरकार र प्रशासनले केही काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘उहाँहरुको सास नभए पनि हामीलाई लास चाहियो, उहाँहरुको अपहरण गर्न जग्गाको कारण हुनसक्छ ।’ 

झाले तीन दिनभित्र घटनाको निष्पक्ष जाँच समिति गठन गरि अपहरित दम्पतिको यथार्थ स्थिती सार्बजनिक गर्न माग गरे । उनले थपे, ‘अपहरणको मुद्दामा राजनीतिकरण नहोस् भनेर सिआईबी जाँचको माग गर्दै हामीले आन्दोलन गरिरहेका छौं, सीआईबी अनुसन्धान सुरु गरियोस्, अपहरित दम्पतीको खोजी गरेर बाहिर ल्याइयोस् र बेपत्ता पार्नेलाई सार्वजनिक गरियोस् भन्ने हाम्रो मुख्य माग हो ।’ 

राष्ट्रिय इन्जिनियर संघका महासचिव ई.दिपेन्द्रकुमार साहले अपराधीलाई सरकारले कडाभन्दा कडा सजाय दिन माग गरे । उनले भने, ‘कि सास कि लास चाहियो । झाले दम्पत्ति अपहरणमा पर्नुको कारण मोही जग्गाको साक्षी बस्नु रहेको जिकिर गरे । 

मैथीली महिला समाजकी अध्यक्ष अन्जला झाले झा दम्पत्तिलाई प्रशासनले खोजी गर्न नचाहेको आरोप लगाइन् । उनले भनिन्, ‘प्रशासनले चाहेको भए खोजी नीति छिटै हुन्छ ।’ तर प्रशासनले अलटाल गरेकोले खोजिनिति नगरेको झाले बताइन् । उनले दम्पत्तिको खोजीको लागि सिआईबीको छानबिन टोली गठन गर्न सरकारसँग माग गरिन् ।

सहोडवा समाज काठमाडौंका अध्यक्ष वशिष्ट नारायण मिश्रले झा दम्पत्ति अवस्थामा सार्वजनिक गर्न माग गरेका छन् । झा दम्पत्ति जुनसुकै अवस्थामा भएपनि सरकारले छिटो भन्दा छिटो सार्वजनिक गनुपर्नेमा उनको माग थियो । महोत्तरीका ७५ वर्षीय मोसाफिर झा र ७० वर्षीय गीतादेवी झा यही फागुन १० गते घरबाटै सुतिरहेका अवस्थामा अपहरणमा परेका थिए । मोसाफिर झा नेपाल सरकारका पूर्वकर्मचारी हुन् ।

Advertisement

Advertisement