पुँजीबजारमा नागरिक लगानी कोषको लगानी कम भयो, १०-१२ प्रतिशत पुर्याउः ढुँगाना

Advertisement

काठमाडौ । राजश्व सचिव रामशरण पुडासैनीले पूर्वाधार र उत्पादनशिल क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने बताएका छन् । नागरीक लगानी कोषको ३१ औं वार्षिकोत्सवमा बुधबार उनले पुँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने बताए । 

पुडासैनीले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको बताउँदै कोषले पुँजी बजारको विकास, गतिशिलता र बजारको स्थायितत्वको बिषयमा काम गर्नुपर्ने बताए । 

Advertisement

कोष संचालक समितिका अध्यक्ष रामचन्द्र भट्टराइले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कोषले संचालनमा रहेका योजनाबाट एक खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी एक खर्ब ६३  अर्ब  ३० करोड रुपियाँ लगानी गरेको बताए । कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भईरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजना सफलतापूर्वक सञ्चालनमा ल्याउनसक्नु नै कोषको सफलताको आधार भएको उनले दाबी गरे । 

कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरिरहेकोमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसंचालन गर्नेतर्फ काम शुरु गरिसकेको बताए । 

कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको उनले जानकारी दिए । कार्यकारी निर्देशक नेपालले कोषको भौतिक पूर्वाधार, मानवीय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संशोधन भइरहेको भन्दै उनले संगठनात्मक संरचनालाई अझ व्यवसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको धारणा राखे । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोषले कुल लगानीको ६-७ प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै उनले यो प्रतिशत १०–१२ प्रतिशतसम्म पुर्याउनुपर्नेमा जोड दिए ।  स्वदेशी मात्रै नभएर विदेशी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने उनले बताए ।

Advertisement

Advertisement