चियाको पैसा मागेपछि त्रिचन्द्रको नेविसंघको समूहद्धारा खाजा घरमा तोडफोड (भिडियोसहित)

Advertisement

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्ने नेपाल विद्यार्थी संघनिकट विद्यार्थीको एउटा झुण्डले कमलादीस्थित कञ्चन खाजा घरमा तोडफोड गरी दुई लाख रुपियाँभन्दा बढिको क्षति पुर्याएका छन् । 

बिहीबार चिया खाएपछि पैसा माग्दा उनीहरुले क्याम्पसबाट थप केटाहरू बोलाई खाजा घर तोडफोड गरेको उक्त खाजा घरका सञ्चालकले गुनासो गरे । उनीहरू बिगतमा पनि आउने खाजा खाने र राजनीतिक रवाफ देखाउँदै पटक पटक पैसा नतिरी हिँड्ने गरेको गुनासो गर्दै आजको तोडफोडबाट आफ्नो ठूलो क्षति भएको र काम गर्ने कर्मचारीहरू आतंकित भएको बताए । 

Advertisement

आक्रमणकारीहरू खाजा घरको शिशा तोडफोड गर्नुका साथै फ्रिड फुटाएका छन् । विभिन्न बैंक वित्तीय संस्था, कर्पोरेट हाउसका कर्मचारी, विभिन्न मिडियाका पत्रकारहरूसमेत आएर खाजा खाने उक्त खाजा घर कमलादी क्षेत्रमै लोकप्रिय छ । 

नेविसंघको समूहले तोडफोड गर्न थालेपछि खाजा खाँदै गरेकादेखि खाजा घरका कर्मचारीहरू भागाभाग भएको थियो । तोडफोडपछि खाजा घरका साथै उक्त खाजा घरबाट सञ्चालन हुँदै आएको फलफूल र चिया पसलसमेत बन्द गरिएको थियो । आक्रमणकारी करिव १३ जनाको संख्यामा रहेको जनाइएको छ । 

महानगरीय प्रहरी परिसर दरबारमार्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर पौडेलले तोडफोड गर्ने समूह त्रिचन्द्रमा नेविसंघको नाममा दादागिरी देखाउने केटाहरुको समूह भएको र उनीहरु सबैको पहिचान भइसकेको बताए । 

उनले पीडितको उजुरी आइसकेको बताउदै शुक्रबार उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्ने र खाजा घरको भएको सम्पूर्ण क्षति पनि भराउने बताए । पौडेलले आफूले खाजा घर सञ्चालकलाई अब सुरक्षा दिने जिम्मा प्रहरीको भएको र ढुक्कसँग पसल सञ्चालन गर्न आग्रह गरेको पनि जानकारी दिए । 

Advertisement

Advertisement